काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा साउदी अरेबियालाई हराउँदै ओमान सेमिफाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधवार भएको खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनले हराएको हो ।
जितसँगै समूह ‘ए’ बाट ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ओमानले जितको लागि दिएको ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा अल आउट भयो ।
साउदीका लागि ओपनर अब्दुल वहिदले ८६ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक ९५ रनको सानदार अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई सेमिफाइनल सम्म पुर्याउन सकेनन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका साद खानले ८० बलमा १० चौका र १ छक्काको सहयोगमा ७८ रन बनाएका थिए ।
कप्तान हिशाम शेखले ३२ बलमा ४ चौकासहित ३४ रन बनाए । अब्दुल वाहिदले १५ बलमा २५ रन बनाएका थिए । आतिफ उर रहेमानले अविजित १६ रन बनाएका थिए । साउदीका तल्ला क्रमका ब्याटर लगातार आउट भएपछि इतिहास रच्नबाट चुकेका थिए ।
ओमानका लागि बिलाल खानले ८.५ ओभरमा ७५ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । जय ओडिराले ९ ओभरमा ६१ रन खर्चेर ३ विकेट लिए । जिशान मकसुदले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिएका थिए । त्यस्तै, आयन खानले एक विकेट लिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६६ रन बनाएको थियो । ओमानको जितमा ओपनर जतिन्दर सिंह, मोहम्मद नदिम, कश्यप प्रजापती, सोयब खान र कप्तान जिशान मक्शुदले अर्धशतकीय ईनिङ खेलेका थिए ।
जतिन्दर सिंहले ७९ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ८८ रनको योगदान दिए । मोहम्मद नदिमले ३८ बलमा ६ चौका र ४ छक्कासहित अविजित ७१ रनको आक्रामक इनिङ खेलेका थिए । कश्याप प्रजापति ५३ बलमा ६ चौका र २ छक्कासहित ५१ रनमा आउट भए ।
शोएब खान ७० बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा आउट भएका थिए । जिशान मकसुद ४९ बलमा ४ चौका र २ छक्कासहित ५४ रनमा आउट भए । आयान खान १२ रनमा अविजित रहेका थिए ।
साउदीका लागि अतिफ उर रहमानले ९ ओभरमा ८० रन खर्चेर ३ विकेट लिएका थिए । अब्दुल वहिदले १० ओभरमा ६४ रन खर्चेर २ विकेट लिए । त्यस्तै, अब्दुल वाइदले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए ।
समूह ‘ए’ बाट आयोजक नेपाल ३ खेलमा २ मा जित र एक खेलमा अंक बाँड्दै ५ अंकका साथ यस अघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । बिहिबार टियु क्रिकेट मैदानमा नेपाल र कतारबीचको खेल पछि यस समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा १० राष्ट्रको सहभागीता रहेको प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म टियु र मुलपानीमा सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ । यस्तै, शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।