काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा बहराइनलाई हराउँदै युएई सेमिफाइनलमा पुगेको छ । बुधवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
जितसँगै समूह ‘बी’ बाट युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । बहराइनले जितको लागि दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको युएईले २७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा युवा खेलाडी वृत्य अरविन्द र रोहन मुस्तफाले अर्धशतकीय ईनिङ खेलेका थिए ।
वृत्य अरविन्द ८४ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनमा अविजित रहे । त्यस्तै, रोहन मुस्तफा ५६ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा अविजित रहेका थिए । तेस्रो विकेटका लागि मुस्तफा र अरविन्दले ९९ रनको अविजित साझेदारी गर्दै सानदार जित दिलाएका थिए ।
युएईका कप्तान मोहम्मद वासिम १ रन र आर्यन लाक्रा ५ रनमा आउट भएका थिए । बहराइनका लागि स्पिनर अब्दुल मजिदले १० ओभरमा २९ रन खर्चेर २ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ४०.५ ओभरमा सबै विकेट गुमाएर १ सय १६ रन बनाएको थियो । बहराइनका अली दाउद ४७ बलमा १ चौका र १ छक्कासहित २३ रनमा नटआउट रहेका थिए । कप्तान हैदर अली बट ४९ बलमा ४ चौकासहित २३ रनमा आउट भएका थिए ।
त्यस्तै, मोहम्मद युनिसले १६ रन, इमरान अनवारले १४ रन, वासिक अहमदले १२ रन बनाउदा अब्दुल मजिद ११ रनमा आउट भएका थिए । बहराइन अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
युएईका लागि स्पिनर आयन खानले १० ओभरमा ७ मेडनसहित ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । आयन खानले ६० मध्य ५५ बल डट राखेका थिए । रोहन मुस्तफाले १० ओभरमा ४ मेडनसहित १६ रन खर्चेर २ विकेट लिएका थिए । कार्तिक मयाप्पनले १० ओभरमा २ मेडनसहित ४८ रन खर्चेर २ विकेट लिएका थिए । त्यस्तै, जहुर खानले एक विकेट लिएका थिए ।
समूह ‘ए’ बाट आयोजक नेपाल ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग टियुमा खेल्नेछ । एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा १० राष्ट्रको सहभागीता रहेको प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म टियु र मुलपानीमा सञ्चालन हुनेछ ।
सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ ।