काठमाडौं । अर्जेन्टिनी फरवार्ड भ्यालेन्टिन कास्टेलानोस चम्कँदा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडमाथि जिरोनाले सहज जित निकालेको छ । मोन्टिभिली रंगाशालामा मंगलबार राति भएको खेलमा साविक विजेता रियललाई जिरोनाले ४-२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा जिरोनाको सहज जितमा भ्यालेन्टिन कास्टेलानोसले चार गोल गरेका थिए । रियलका भिनिसियस जुनियर र लुकास भास्क्वेजले समान एक/एक गोल गरेपनि टोलीको हार भने टार्न सकेनन् ।
खेलको १२ औं मिनेटमा मिगुइल गुइटेरेजको पासमा कास्टेलानोसले गोल गर्दै जिरोनालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २४ औं मिनेटमा एर्नाउ मार्टिनेजको पासमा कास्टेलानोसले व्यक्तिगत दोस्रो गोल गर्दै जिरोनालाई २-० को अग्रता दिलाए ।
खेलको ३४ औं मिनेटमा मार्काे एसेन्सियोको पासमा भिनियस जुनियरले गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याएका थिए । खेलको ४६ औँ मिनेटमा यान काउटोका पासमा कास्टेलानोसले ह्याट्रिक पूरा गर्दै अग्रता पुनः ३-१ मा बढाएका थिए ।
खेलको ६२ औं मिनेटमा कास्टेलानोसले व्यक्तिगत चौंथो गोल गर्दै जिरोनालाई ४-१ को अग्रता दिलाएका थिए । त्यसपछि, खेलको ८५ औं मिनेटमा लुकास भास्क्वेजले गरेको गोल रियलका लागि सान्त्वना मात्र बन्यो रियल ४-२ गोल अन्तरले पराजित भयो ।
साविक विजेता रियलको हारसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनालाई उपाधि होडमा सहज भएको छ । पराजित रियल ३१ खेलमा ६५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोनाको ७६ अंक रहेको छ । यस जितसँगै जिरोना ३१ खेलबाट ४१ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।
ला लिगाको गएराति सम्पन्न अर्को खेलमा चौथो स्थानको रियल सोसिडाडले पाँचौँ स्थानको रियल बेटिससँग गोलरहित बराबरी खेल्यो । बराबरीपछि रियल सोसिडाड ५५ अंकका साथ चौथो स्थानमा छ भने रियल बेटिस ४९ अंकका साथ पाँचौँ स्थानमा रहेको छ ।