काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई ईन्डियन्सलाई हराउदै गुजरात टाईटन्स दोस्रो स्थानमा उक्लिएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले हराएको हो ।
घरेलु मैदान गुजरातले जितको लागि दिएको २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५२ रन मात्रै बनाउन सक्यो ।
मुम्बईका लागि निहाल वाधिराले २१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधक ४० रन बनाए । क्यामरुन ग्रीनले २६ बलमा ३ छक्कासहित ३३ रन बनाए । सुर्य कुमार यादवले १२ बलमा ३ चौका र १ छक्कासहित २३ रन बनाए । पियुष चवाला १८ र अर्जुन तेन्दुलकर १३ रनमा आउट भए ।
गुजरातका कप्तान हार्दिक पाण्ड्याले मुम्बईका कप्तान तथा ओपनर रोहित शर्मालाई २ रनमा बोल्डआउट गरेर पहिलो झटका दिएका थिए । त्यसपछि, राशिद खान र नुर अहमदले मुम्बईको ब्याटिङ ध्वस्त पारेका थिए ।
गुजरातका लागि नुर अहमदले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका थिए । मोहित शर्माले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले एक विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । गुजरातका लागि ओपनर शुभमन गिलले ३४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको अर्धशतकीय ईनिङ खेले । डेबिड मिलरले २२ बलमा २ चौका र ४ छक्कासहित ४६ रन बनाएका थिए ।
अभिनव मनोहरले २१ बलमा ३ चौका र ३ छक्कासहित ४२ रन बनाए । अभिनव खेलको 'प्लेयर अफ द म्याच' बनेका थिए । राहुल तिवतियाले ५ बलमा ३ छक्कासहित अविजित २० रन बनाए । विजय शंकर १६ बलमा १९ तथा कप्तान हार्दिक पान्ड्या १४ बलमा १३ रनमै आउट भएका थिए ।
मुम्बईका लागि पियुष चवालाले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । अर्जुन तेन्दुलकरले २ ओभरमा ९ रन खर्चेर १ विकेट लिए । जेसन बेहरनडोर्फ र कुमार कार्तिकेयले समान एक/एक विकेट लिएका थिए ।
जितसँगै साबिक विजेता गुजरात ७ खेलमा ५ जित र २ हारका साथ १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित पाँच पटकको च्याम्पियन मुम्बई ७ खेलमा ३ जित र ४ हारका साथ ६ अंक जोडेर सातौं स्थानमा रहेको छ । चेन्नई ७ खेलमा ५ जित र २ हारका साथ १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।