काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराउँदै कुवेतले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कुवेतले सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो ।
समूह ‘बी’ मा रहेको कुवेतले ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनाउँदा सिंगापुर भने जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब सेमिफाइनल प्रवेशका लागि कुवेतले बिहिबार मुलपानी मैदानमा हुने खेलमा हङकङलाई पराजित गर्नु पर्ने हुन्छ ।
सिंगापुरले जितको लागि दिएको १ सय १४ रनको सामान्य लक्ष्य पाएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कुवेतको जितमा मित भावसर ५० बलमा १ चौका र १ छक्कासहित २७ रनमा अविजित रहेका थिए । भावसरले स्पिनर अक्षर पुरीको बलमा छक्का हान्दै खेल सकाएका थिए ।
यस्तै, यासिन पटेल २५ बलमा २ चौका र १ छक्कासहित २१ रनमा अविजित रहँदा कुवेतका ओपनर अद्नान इद्रिसले २८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाएका थिए । शिराज खान १० रन, कप्तान मोहम्मद अस्लाम ९ रन र रविजा सनदरुवान ५ रन बनाएर आउट भएका थिए ।
सिंगापुरका लागि अक्षर पुरीले ८.३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिएका थिए । विनोथ भास्करनले ९ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । यस्तै, आदित्य भर्गव र थिलिपनले समान एक/एक विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१.४ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । सिंगापुरका लागि ओपनर अर्मत्य कौलले ६० बलमा ९ चौकासहित सर्वाधिक ४५ रन बनाएका थिए । मनप्रित सिंह ४४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।
थिलिपन उमरदुराईले १३ रन बनाउँदा सिंगापुरका अन्य ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतका लागि कप्तान मोहम्मद इस्लामले ८.४ ओभरमा २० रन खर्चेर सर्वाधिक पाँच विकेट लिएका थिए । स्पिनर शिराज खानले ६ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । यासिन पटेलले ९ ओभरमा २४ रन खर्चेर १ विकेट लिएका थिए ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा १० राष्ट्रको सहभागीता रहेको प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म टियु र मुलपानीमा सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ ।