काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेल हुदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने माथिल्लो मुलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछन् ।
मुलपानी मैदानमा समूह ‘ए’ का मलेसिया र कतारबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट बाहिरी सकेको मलेसियाले आफ्नो अन्तिम खेलमा जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ । मलेसिया पहिलो खेलमा नेपालसॅंग पराजित हुॅंदा दोस्रो खेलमा साउदी अरेबियालाई पराजित गरेको थियो। तेस्रो खेलमा ओमानसॅंग पराजित भएको थियो ।
यस्तै, प्रतियोगिताबाट बाहिरिसकेको कतार मलेसियालाई हराएर जितको खाता खोल्न चाहन्छ । पहिलो खेलमा ओमानसॅंग पराजित कतार साउदी अरेबियासॅंग दोस्रो खेलमा पराजित भएको थियो । समूह ‘ए’ मा नेपाल ३ खेलमा ५ अंकका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
यस्तै, कीर्तिपुरस्थित टियु मैदानमा समूह ‘बी’ का कुवेत र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । सिंगापुरलाई हराएर कुवेत सेमिफाइनलमा पुग्ने झिनो सम्भावना कायम राख्न चाहान्छ । प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुर अन्तिम खेलमा सान्त्वना जित हात पार्न चाहन्छ । समूह ‘बी’ मा हङकङ ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा १० राष्ट्रको सहभागीता रहेको प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म टियु र मुलपानीमा सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ ।