काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा वर्षाका कारण साउदीसँग अंक बाँड्दै नेपाल सेमिफाइनलमा पुगेको छ । सोमवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा समूह ‘ए’ का नेपाल र साउदीबीचको खेल टस समेत नभई रद्द भएको हो ।
आयोजक नेपाल ३ खेलमा २ मा जित र १ मा अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग टियुमा खेल्नेछ । साउदी ३ खेलमा १ मा जित, १ मा हार र एक खेलमा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको साउदीले कतारलाई ७ विकेटले हराएको थियो । आजको खेलमा साउदी र नेपालले अंक बाँड्दा समूह ‘ए’ मा रहेका कतार र मलेसिया एक खेल अगावै बाहिरिका छन् । मलेसियाले अन्तिम खेल कतारसँग मुलपानीमा मंगलबार खेल्नेछ ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा १० राष्ट्रको सहभागीता रहेको प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म टियु र मुलपानीमा सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ ।