काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा वर्षाका कारण मैदान ओसिलो भएपछि आजको खेलमा टस ढिलाई भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा समूह ‘ए’ का नेपाल र साउदीबीच बिहान ९ बजे सुरु हुनुपर्ने खेल अहिले हल्का वर्षाको कारण अझै खेलको टस समेत भएको छैन ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आजै हुने भनिएको समूह ‘बी’ का हङकङ र बहराईनबीच खेल पनि वर्षाका कारण प्रभावित बनेको छ । आइतबार साँझदेखि परेको वर्षाका कारण मैदान भिजेको हो । अहिले पिचमा कभर लगाइएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा उपाधि दाबेदार नेपाल आज साउदीलाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ । वर्षाका कारण खेल रद्द हुन पुगे दुवै टिमले एक एक अंक लिने छन् । नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ चौथो स्थानमा रहेको छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको साउदीले कतारलाई ७ विकेटले हराएको थियो ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा १० राष्ट्रको सहभागीता रहेको प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म टियु र मुलपानीमा सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ ।