काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा सिंगापुरमाथी युएईले सानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतवार भएको खेलमा युएईले सिंगापुरलाई २०१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जितसँगै युएईले सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनाउँदा तीन खेलमा जितविहीन सिंगापुर एक खेल अगावै बाहिरिएको छ ।
युएईले जितको लागि दिएको ४७२ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको सिंगापुरले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २७० रनमात्र बनाउन सक्यो । सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६६ रनको अर्धशतकीय ईनिङ खेले ।
थिलिपन ओमैदुरै ५६ बलमा ४ चौका र ३ छक्कासहित ५२ रनमा आउट भएका थिए । कप्तान अरित्र दत्त ३२ बलमा ४ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । त्यस्तै, सुरेन्द्रन चन्द्रमोहनले ५७ बलमा ३८ रन, विनोथ बसकरणले १८ रनको योगदान गर्दा अब्दुल रहमानले १६ रन बनाएका थिए ।
युएईका लागि सचित शर्मा, कार्थिक मयप्पन र आयान अफ्जल खानले समान २/२ विकेट लिए । त्यस्तै, जुनैद सिद्दिकी, रोहन मुस्तफा र जहुर खानले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ४७१ रन बनाएको थियो । युएईले बनाएको स्कोर टियु क्रिकेट मैदानमा अहिलेसम्मकै सर्वाधिक ठूलो स्कोर रहेको थियो ।
युएईका लागि युवा खेलाडी वृत्य अरबिन्द र कप्तान मुहम्मद वासिमले विष्फोटक शतकीय ईनिङ खेलेका थिए । वृत्य अरविन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्कासहित १७४ रनको सानदार शतकीय इनिङ खेले । वृत्य ४८ औं ओभरको तेस्रो बलमा क्याच आउट भएपछि दोहोरो शतक पूरा गर्ने अवसर गुमाएका थिए । यसअघि कुवेतविरुद्धको खेलमा पनि वृत्यले १८५ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
यस्तै, युएईका कप्तान मोहम्मद वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १६० रन बनाए । वासिमले ३४ बलमा अर्धशतक पूरा गरेका थिए भने ६२ बलमा शतक पूरा गरेका थिए । दोस्रो विकेटका लागि वृत्य र वासिमले २४६ रनको विशाल साझेदारी गरेका थिए ।
आयन अफजल खान ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रनमा आउट भए । युवा ओपनर आर्यन लाक्रा ७ बलमा १२ रनमा आउट भए । रमिज शाहजाद शून्यमा आउट हुँदा आसिफ खान ११ र रोहन मुस्तफा ३ रन बनाएर आउट भए । सचित शर्मा ८ बलमा १६ रन बनाउँदै अविजित रहेका थिए ।
बलिङतर्फ सिंगापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे । त्यस्तै विनोथ भास्करनले दुई विकेट लिदाँ मनप्रित सिंहले एक विकेट लिएका थिए । जितसँगै तीन खेलबाट चार अंक जोडेको समूह 'बी'को यूएई तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तीन खेल खेले पनि सिंगापुर भने प्रतियोगितामा अझै जितविहीन रहेको छ ।