काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा पुछारमा रहेको साउथह्याम्पटनसँग शीर्षस्थानको आर्सनल बराबरीमा रोकिएको छ । इमिरेट्स स्टेडियम लन्डनमा शुक्रबार राति भएको खेलमा लन्डन क्लब आर्सनलले साउथह्याम्पटनसँग ३-३ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर शीर्षस्थानमा रहेको आर्सनलले साउथह्याम्पटनसँग बराबरी खेलेको हो । साउथह्याम्पटका कार्लाेस अल्कारेज, थियो वाल्कोट र डुज कालेटा कारले गोल गरेका थिए । आर्सनलका गाब्रिएल मार्टिनेली, कप्तान मार्टिन ओडेगार्ड र बुकायो साकाले बराबरी गोल फर्काएका थिए ।
खेलको पहिलो मिनेटमै कार्लोस अल्कारेजले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा साउथह्याम्पटका थियो वाल्कोटले आफ्नै पूर्व क्लबविरुद्ध गोल गरेपछि आर्सनल सुरुवातमै २-० गोल अन्तरले पछि परेको थियो ।
खेलको २० औं मिनेटमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै घरेलु टोली आर्सनललाई २-१ को स्थितिमा ल्याएका थिए । खेलको ६६ औं मिनेटमा डुज कालेटा कारले गोल गर्दै साउथह्याम्पटनलाई ३-१ को अग्रता दिलाएका थिए ।
दुई गोलले पछि परेको आर्सनलले खेलको अन्तिम समयतिर लगातार आक्रमण बुन्दै अंक खोस्न सफल भयो । खेलको ८८ औं मिनेटमा बेन ह्वाइटको पासमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३-२ को स्थितिमा ल्याएका थिए ।
त्यसपछि, खेलको ९० औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई ३-३ गोलको बराबरीमा ल्याए । खेलको इन्ज्युरी समयमा आर्सनलले अर्काे दुई अवसर गुमाउँदा जितबाट वञ्चित भएको थियो ।
यस बराबरीसँगै शीर्षस्थानमा रहेको आर्सनलको ३२ खेलबाट ७५ अंक पुगेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ७० अंक रहेको छ । साउथह्याम्पटन २४ अंक जोडेर पुछारमा रहेको छ ।