काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा नेपालले ओमानमाथि शानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो । लगातार दोस्रो जितसँगै अब नेपाल सेमिफाइनदेखि एक कदम टाढा रहेको छ ।
नेपालले जितको लागि दिएको ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भएको थियो । ओमानका अकिब इलियास घाइते हुँदा ब्याटिङमा नआउँदै रिटायर्ट आउट भएका थिए ।
ओमानका लागि मोहम्मद नदीमले ८४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाएका थिए । सन्दीप गौड ५६ बलमा ३ चौका र २ छक्कासहित ४६ रन, ओपनर कश्याप प्रजापति २५ रन, जतिन्दर सिंह १५ रन, विकेटकिपर आदिल शफिक १३ रन, आयन खान २९ रन, फैयज बट १९ रन र कलिमुल्लाह २ रनमा आउट भएका थिए ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले २ विकेट तथा ललित राजवंशीले १ विकेट लिएका थिए । नेपालका स्पिनर सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो ।
रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए । सन्दीपले भने ४२ खेलबाटै सय विकेट लिँदै कीर्तिमान बनाएका हुन् । सन्दीप २२ ओडआईमा खेलमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन् । श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका छन् ।
त्यसअघि, घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै विशाल ३ सय १० रन बनाएको थियो । एकदिवसीयमा नेपालको याे सर्वाधिक स्कोर हाे । यसअघि, पीएनजीविरुद्ध लीग टुमा बनाएको २९७ नेपालकाे सर्वाधिक रन थियो ।
नेपालको लागि युवा अलराउन्डरकुशल मल्लले शानदार शतकिय ईनिङ खेले । कुशलले ५९ बलमा सतक पुरा गरेका थिए । कुशल नेपालका लागि सबैभन्दा थोरै बलमा सतक बनाउने खेलाडी बनेका छन् । कुशलले कप्तान रोहित पौडेलले ९१ बलमा हानेको कीर्तिमान तोडेका हुन् । आक्रामक ब्याटिङ गरेका उनी ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रनमा आउट भए ।
यस्तै, नेपालका लागि सोमपाल कामीले ४८ बलमा ९ चौकासहित ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपालले ३९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका थिए । करण केसी १५ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाउँदै अविजित रहे ।
सुरुआत राम्रो हुन नसकेको नेपालका मध्येक्रमका ब्याटरहरुले राम्रो साझेदारी गरेर नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए । नेपाल खाता नखोल्दै दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई गुमाउँदा दबाबमा आएको थियो । नेपालले पहिलो रन २८ औं बलमा जोडेको थियो ।
भीम सार्की ५६ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा स्टम्पिङ आउट भए । कप्तान रोहितले ३४ बलमा २ चौकासहित २३ रन बनाएका थिए । आरिफ शेख ४३ बलमा २ चौकासहित २९ रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा बोल्ड आउट भएका थिए । ओमानका लागि आयान खानले २ तथा बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिएका थिए ।
नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । समूह ‘ए’मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । पराजित ओमान दुई खेलबाट मात्र दुई अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा १० राष्ट्रको सहभागीता रहेको प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म टियु र मुलपानीमा सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ ।