काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेलमा कुशल मल्लको विष्फोटक शतकमा ३१० रन बनाएको हो ।
एकदिवसीयमा नेपालको याे सर्वाधिक स्कोर हाे । यसअघि, पीएनजीविरुद्ध लीग टुमा बनाएको २९७ नेपालकाे सर्वाधिक रन थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।
नेपालको लागि युवा अलराउन्डरकुशल मल्लले शानदार शतकिय ईनिङ खेले । कुशलले ५९ बलमा सतक पुरा गरेका थिए । कुशल नेपालका लागि सबैभन्दा थोरै बलमा सतक बनाउने खेलाडी बनेका छन् । कुशलले कप्तान रोहित पौडेलले ९१ बलमा हानेको कीर्तिमान तोडेका हुन् । आक्रामक ब्याटिङ गरेका उनी ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रनमा आउट भए ।
यस्तै, नेपालका लागि सोमपाल कामीले ४८ बलमा ९ चौकासहित ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपालले ३९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका थिए । करण केसी १५ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाउँदै अविजित रहे ।
सुरुआत राम्रो हुन नसकेको नेपालका मध्येक्रमका ब्याटरहरुले राम्रो साझेदारी गरेर नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए । नेपाल खाता नखोल्दै दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई गुमाउँदा दबाबमा आएको थियो । नेपालले पहिलो रन २८ औं बलमा जोडेको थियो ।
भीम सार्की ५६ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा स्टम्पिङ आउट भए । कप्तान रोहितले ३४ बलमा २ चौकासहित २३ रन बनाएका थिए । आरिफ शेख ४३ बलमा २ चौकासहित २९ रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा बोल्ड आउट भएका थिए । ओमानका लागि आयान खानले २ तथा बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिएका थिए ।