काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा आज (शुक्रबार) नेपालले ओमानको सामना गर्नेछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल बिहान ९ बजे सुरू हुनेछ ।
आज दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा हुने छन् । आयोजक नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले कतारलाई ४० रनले पराजित गरेको थियो ।
आजको खेल एक दिवसिय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको ५० औं ओडिआई खेल हुनेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडिआई खेल खेलेको छ । एसीसी प्रिमियर कप प्रतियोगितामा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यताप्राप्त देश हुन् ।
नेपालले अहिलेसम्म खेलेका ४९ ओडिआई खेलमा २६ मा जित, २१ मा हार, एक मा बराबरी र एक खेल नतिजा बिहीन भएको छ । यद्यपि, अहिले जारी एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय भए नभएको बारेमा भने आईसीसी र नेपाल क्रिकेट संघ (क्यान) दुवैले केही खुलाएका छैनन् ।
नेपाल घरेलु मैदानमा भएको पछिल्लो नौ खेलमा अपराजित रहेको छ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउनुअघि आईसीसी क्रिकेट विश्वकप लिग-२ को आठ खेलमा लगातार जित निकालेको थियो ।
नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् । नेपाल युवा खेलाडीले भोरिएको टोली हो भने ओमानमा अनुभवी भारतीय र पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता रहेको छ । घरेलु टोली नेपाल आज उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ ।
नेपाल र ओमानबीच ओडिआईमा अहिलेसम्म कुल ६ खेल भएको छ । नेपाल २ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । २०२० मा नेपालले लिग-२ मा घरेलु मैदान टियुमा ओमानसँग दुबै खेल हारेको थियो । प्रिमियर कपअन्तर्गत आजै हुने अर्को खेलमा हङकङ र युएई भिड्नेछन् । यो खेल बिहान ९ बजे माथिल्लो मुलपानी मैदानमा हुनेछ ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा १० राष्ट्रको सहभागीता रहेको प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म टियु र मुलपानीमा सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।
ओमानको टोली :
जिशान मकसुद (कप्तान), अकिब इलियास, जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदिल शफिक, जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी र फैज बुट ।