काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा युएईले सानदार विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधवार भएको खेलमा युएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो ।
युएईले जितको लागि दिएको ३ सय ७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा २ सय २८ रन बनाउदै अलआउट भएको थियो । कुवेतका लागि सयद मुनीमले ३६ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ६८ रन बनाउँदा प्रविन्दर कुमारले २६ बलमा १ चौका र ७ छक्कासहित ५३ रनको सानदार अर्धशतकीय ईनिङ खेलेका थिए ।
कुवेतका यी दुई बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान मोहम्मद अस्लाम ३६ बलमा ३३ रनमा आउट हुँदा उस्मानगानी इब्राहिम १६ रनमा पभेलियन फर्किएका थिए । युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३/३ तथा जाहोर खान, रोहन मुस्ताफा, सचित शर्मा र आयान खानले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७१ रनको विशाल लक्ष्य बनाएको थियो । युएईको जितमा वृत्य अरविन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रनको विष्फोटक शतकीय इनिङ खेले । वृत्य अरविन्दनै खेलको 'प्लेयर अफ द म्याच' चुनिएका थिए ।
रोहन मुस्ताफाले १ सय २४ बलमा १० चौका र ४ छक्का १ सय १८ रन बनाएका थिए । पहिलो पाँच ओभरमा तीन विकेट गुमाउँदै २४ रन बनाएको युएईको पारीलाई वृत्य अरबिन्द र रोहन मुस्ताफाले २७५ रनको विशाल साझेदारी गर्दै उकासेका थिए ।
आसिफ खान ९ बलमा २ चौका र ३ छक्कासहित ३० रनमा आउट भए । कुवेतका लागि प्रविन्दर कुमार र शाहरुख कुदरुसले समान २/२ तथा सयद मनिब, यासिन पटेलले समान १/१ विकेट लिएका थिए । जितसँगै युएई समूह 'बी' मा २ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा १० राष्ट्रको सहभागीता रहेको प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म टियु र मुलपानीमा सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ ।
ओमानले कतारलाई हरायो
आजै माथिल्लो मुलपानी मैदानमा भएको अर्को खेलमा ओमानले र कतारलाई ४० रनले हराएको छ । ओमानले जितको लागि दिएको २५० रनको मध्यम लक्ष्य पछ्याएको कतार ४७.१ ओभरमा २०९ रन जोड्दा अलआउट भयो । कतारका लागि मोहम्मद रिजलानले ४३ रनको योगदान गरे । ओमानका लागि बिलाल खानले ४ विकेट हात पारेका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिंग गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २४९ रनको लक्ष्य बनाएको थियो । ओमानको जितमा आयन खानले अर्धसतकीय पारी खेल्दै अविजित ६४ रनको योगदान गरे । कतारका लागि अमिर फरुक र मोहम्मद मुरडले समान तीन/तीन विकेट हात पारेका थिए ।