काठमाडौं । राजधानीमा आजबाट सुरु एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगितामा आयोजक नेपालले सानदार विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको समूह 'ए' को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
मलेसियाले जितको लागि दिएको २ सय ३६ रनको मध्यम लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा युवा अलराउन्डर कुशल मल्ल र भीम सार्कीले अर्धशतकीय ईनिङ खेले । कुशलले २८ बलमा र भीमले ७५ बलमा अर्धशतक पूरा गरेका थिए ।
कुशल मल्लले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा अविजित ७० रन बनाए । भीम सार्की ९८ बलमा ५ चौकासहित ७१ रनमा आउट भएका थिए । भीम र कुशलले चौथो विकेटका लागि १ सय १२ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।
नेपालले ओपनर आसिफ शेखलाई एक रनमै गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल ३१ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल ४३ बलमा ५ चौकासहित ४२ रनमा आउट भएका थिए ।
चौका हान्दै खेल सकाएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी ५ रनमा अविजित रहे । मलेसियाका लागि मोहम्मद वाफिक, रिजवान हैदर, विजयी उन्नी र विरनदीप सिंहले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान गरेपनि जितको लागि पर्याप्त हुन सकेन ।
ओपनर मोहम्मद अमिर १८ बलमा ३ चौकासहित १७ रनमा आउट भए । विरान्दिप सिंह ९४ बलमा २ चौकासहित ४६ रनमा आउट भए । अहमद फैज र विरनदीप सिंहले दोस्रो विकेटका लागि १ सय १६ रनको शतकीय साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।
यस्तै, खिजर हायत २५ बलमा १ चौका र १ छक्कासहित २२ रन, सैजरुल १३ बलमा १ चौका र २ छक्कासहित २१ रन, सायद अजिज १३ रन, विजय उन्नी १२ रन तथा साजरुल इद्रासले अविजित १५ रन बनाएका थिए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिएका थिए ।
जितसँगै समूह 'ए' मा आयोजक नेपाल २ अंक सहित शीर्ष स्थानमा रहेको छ । नेपालको अर्को खेल वैशाख ८ गते ओमानविरुद्ध रहेको छ । एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा विभिन्न १० राष्ट्रको सहभागिता रहने प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
आजै माथिल्लो मुलपानी मैदानमा भएको अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हरायो । जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा बाबर हायत ९४ बलमा १० चौका र ६ छक्कासहित १ सय ८ रनमा अविजित रहेका थिए । जितसँगै समूह ‘बी’ मा रहेको हङकङ २ अंक सहित शीर्ष स्थानमा रहेको छ ।