काठमाडौं । एसीसी प्रिमियर लिग अन्तर्गतको समूह 'ए' को पहिलो खेलमा नेपाललाई मलेसियाले २३६ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो ।
मलेसियाका लागि कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान गरे । ओपनर मोहम्मद अमिर १८ बलमा ३ चौकासहित १७ रनमा आउट भए । विरान्दिप सिंह ९४ बलमा २ चौकासहित ४६ रनमा आउट भए । अहमद फैज र विरनदीप सिंहले दोस्रो विकेटका लागि १ सय १६ रनको शतकीय साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।
यस्तै, खिजर हायत २५ बलमा १ चौका र १ छक्कासहित २२ रन, सैजरुल १३ बलमा १ चौका र २ छक्कासहित २१ रन, सायद अजिज १३ रन, विजय उन्नी १२ रन तथा साजरुल इद्रासले अविजित १५ रन बनाएका थिए ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिएका थिए । उपाधिको प्रमुख दाबेदार नेपाल आज मलेसियालाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । मलेसिया पनि आयोजक नेपाललाई हराएर जितबाट प्रतियोगिताको सुरुआत गर्ने योजनामा हुनेछ ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा विभिन्न १० राष्ट्रको सहभागिता रहने प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।