काठमाडौँ । एसीसी प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगिता आज मंगलबारदेखि नेपालमा सुरु हुँदैछ । आज उद्घाटनको दिन कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा एक/एक खेल हुन लागेको हो । दुबै खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने खेलमा आयोजक नेपाल र मलेसियाबीच खेल हुँदैछ । उपाधिको प्रमुख दाबेदार नेपालले घरेलु मैदानमा तुलनात्मक रुपमा कमजोर मलेसियासँग पहिलो पटक ५० ओभरको खेल खेल्न लागेको हो । प्रतियोगिताको पहिलो खेलअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले प्रिमियर कपमार्फत एसिया कप खेल्ने नेपालका लागि सुनौलो अवसर रहेको बताएका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई घरेलु मैदानको कारण नेपाललाई केही सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।
नेपाल पछिल्लो समय सानदार प्रदर्शन, उच्च मनोबल, घरेलु मैदान, दर्शक, कन्डिसन र उत्कृष्ट ब्याटिङक्रमलाई निरन्तरता दिँदै नेपालले सहज जित निकाल्न खोज्नेछ । नेपालले घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग-२ का आठ खेलमा शतप्रतिशत जित निकालेको थियो । मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाल सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ । नेपाल एकदिवसीय क्रिकेटमा पछिल्लो १२ खेलमध्ये एक खेलमा मात्र पराजित भएको छ ।
यस्तै, मुलपानी क्रिकेट मैदानमा हङकङ र सिंगापुरबीच खेल हुँदैछ । यो खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल पनि रहेको छ । यो खेलसँगै काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ ।
एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा विभिन्न १० राष्ट्रको सहभागिता रहने प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
नेपाली टिमः रोहितकुमार पौडेल (कप्तान) कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी र कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने
वैकल्पिक खेलाडीः किशोर महतो, अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ