काठमाडौं । काठमाडौंका अभी डाँगी र मकवानपुरकी डिना गोपालीले १३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् ।
अभी छात्र तथा डिना छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभीले ११.८ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । मकवानपुरका सुजन राई तथा चितवनका आशिष राउत तेश्रो भए । डिनाले दौड पूरा गर्न १३.९ सेकेन्ड समय लगाइन् । भक्तपुरकी स्वागता खइजु दोश्रो तथा चितवनकी रोजिना गुरुङ तेश्रो भए ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको छात्र ८ सय मिटर दौडमा नुवाकोटका दिनेश राईले स्वर्ण जिते । प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा दिनेशले २ मिनेट १०.४ सेकेन्ड समय निकाले ।
मकवानपुरका सुमन योञ्जनले रजत तथा सिन्धुलीका आशाराम अधिकारीले कांस्य जिते । सो स्पर्धाको छात्रामा २ मिनेट ४८.२ सेकेन्ड समयसाथ सिन्धुपाल्चोककी अस्मिता भुजेलले पहिलो स्थान हात पारिन् । नुवोकोटकी आस्था राई दोश्रो तथा दोलखाकी सुष्मा भुजेल तेश्रो बने ।
छात्र ट्रिपलजम्पमा चितवनका सुजितकुमार महतो शीर्ष स्थानमा रहे । उनले १३.२४ मिटर जम्प गरे । दोलखाका सुदिप मिजार दोश्रो तथा धादिङका सुवाल वल तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा ९.४९ मिटर जम्प गर्दै चितवनकी प्रनिशा महतो पहिलो बनिन् । काभ्रेकी विजया गिरी दोश्रो तथा भक्तपुरकी स्वागता खइजु तेश्रो भए ।
छात्र ज्याभ्लिन थ्रोमा मकवानपुरका सुमन योञ्जनले ४४.३२ मिटर थ्रो गर्दै स्वर्ण हात पारे । दोलखाका धनबहाुर तामाङले रजत तथा रामेछपका सञ्जय मोक्तानले कांस्य जिते । उक्त स्पर्धाको छात्रामा चितवनकी अप्सरा श्रेष्ठ पहिलो भइन् । अप्सराले २८.५३ मिटर टाढा फालिन् ।
धादिङकी अप्सरा सुनुवार दोश्रो तथा रामेछापकी अरुणा मानन्धर तेश्रो भए । मार्सल आर्ट्समा काठमाडौंले ‘क्लिन स्विप’ गरेको छ । करातेमा ६ स्वर्ण, उसुमा ४ स्वर्ण र तेक्वान्दोमा ३ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बन्न सफल भयो ।