काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । अरुण जेट्ली स्टेडियममा मंगलबार राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो । रोमान्चक खेलमा मुम्बईले पहिलो जित हात पार्दा दिल्ली लगातार चौथो खेलमा पराजित भएको छ ।
घरेलु टोली दिल्लीले जितको लागि दिएको १ सय ७३ रनको विजयी लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईलाई अन्तिम बलमा दुई रन चाहिँएको थियो । टिम डेविडले दुई रन बटुल्दै रोमान्चक जित दिलाएका थिए । कप्तान रोहित शर्मा खेलको 'प्लेयर अफ द म्याच' बने ।
मुम्बईको जितमा कप्तान रोहित शर्माले ४५ बलमा ६ चौका ४ छक्कासहित सर्वाधिक ६५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । तिलक बर्माले २९ बलमा १ चौका ४ छक्कासहित ४१ रन र ओपनर इसान किसनले २६ बलमा ६ चौकासहित ३१ रनको योगदान दिए ।
सूर्यकुमार यादव गोल्डेन डक हुँदै पेभेलिएन फर्केका थिए । क्यामरन ग्रीन ८ बलमा १ चौका १ छक्कासहित १७ रनमा अविजित रहे । टिम डेविड ११ बलमा १ चौकासहित १३ रनमा अविजित रहेका थिए । दिल्लीका लागि मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली दिल्ली क्यापिटल्स १९.४ ओभरमा १ सय ७२ रनमा अल आउट भएको थियो । दिल्लीका लागि अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४ रनको आक्रामक अर्धशतकीय इनिङ खेलेपनि जितको लागी पर्याप्त हुन सकेन ।
ओपनर तथा कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौका सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । मनिष पान्डेले १८ बलमा ५ चौकासहित २६ रन तथा ओपनर पृथ्वी शाले १० बलमा ३ चौकासहित १५ रन बनाए । दिल्ली १८ ओभरमा १६५-५ को बलियो अवस्थामा थियो । तर बाँकी ७ रन जोड्दा दिल्लीले ५ विकेट गुमाएको थियो ।
मुम्बईका लागि पीयुष चावला र जेशन बेरेनडर्फले समान ३/३ विकेट लिए । राइली मिरिडेथ २ तथा ऋतिक शोकिनले १ विकेट लिएका थिए । पहिलो जित हात पारेको मुम्बई २ अंकका साथ लिगको आठौं स्थानमा छ । चार खेलमा अंकबिहिन दिल्ली पुछारमा रहेको छ । दिल्लीले अव शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । मुम्बईले अव आइतबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । बुधबार चेन्नई र राजस्थानबीच प्रतिस्पर्धा हुनेछ ।