काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ । एनफिल्डमा आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुलसँग २-२ गोलको रोमान्चक बराबरी खेलेको हो ।
आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलसँग अंक बाड्नु परेको थियो । आर्सनलका लागि गाब्रियल मार्टिनेली र गाब्रियल जिससले एक/एक गोल गरे । लिभरपुलका लागि मोहमद सलाह र रोबर्टो फिर्मिन्होले एक/एक गोल गरेका थिए ।
आर्सनलले खेलको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीको गोलबाट सुरुआती अग्रता लिन सफल भएको थियो । खेलको २८ औं मिनेटमा मार्टिनेलीकै पासमा गाब्रियल जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाएका थिए ।
तर, त्यो अग्रतालाई शीर्ष स्थानको आर्सनलले जोगाउन सकेन । खेलको ४२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दे लिभरपुललाई २–१ को स्थितिमा ल्याउदै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए ।
खेलको ५४ औं मिनेटमा मोहमद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले बराबरी गर्ने राम्रो मौका खेर फालेको थियो । आर्सनलका रोव होल्डिङले पेनाल्टी बक्समा डिएगो जोटालाई फउल गेपछि प्राप्त पेनाल्टीमा सलाहको प्रहार बाहिरिएको थियो ।
त्यसपछि, खेलको ८७ औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा परिवर्तित खेलाडी रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै शीर्ष स्थानको आर्सनलले ३० खेलमा ७३ अंक जोडेको छ । लिभरपुल ४४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
लिड्स युनाइटेडमाथि क्रिष्टल प्यालेसको फराकिलो जित
प्रिमियर लिगकै अर्को खेलमा आइतबार राति क्रिष्टल प्यालेसले लिड्स युनाइटेडलाई ५–१ गोल अन्तरले हराएको छ । यस जितसँगै क्रिष्टल प्यालेस ३३ अंकसहित तालिकाको १२ औं स्थानमा उक्लिंदा २९ अंक जोडेको १६ औँ स्थानको लिड्स युनाइटेड रेलिगेशन क्षेत्रभन्दा दुई अंक मात्रै माथि रहेको छ ।