काठमाडौं । रिंकु सिंहले अन्तिम ५ बलमा ५ छक्का हानेपछि कोलकाता नाइट राइडर्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दोस्रो जित निकालेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा आइतबार भएको खेलमा कोलकाताले साविक विजेता गुजरात टाईटन्सलाई ३ विकेटले पराजित गरेको हो ।
गुजरातका कार्यवाहक कप्तान राशिद खानले १६ औं सिजनको आईपीएलमा पहिलो ह्याट्रिक विकेट लिए पनि रिंकु सिंह कोलकाताका लागि नायक सावित भए र कोलकताले लगातार दोस्रो जित हात पार्यो । आईपीएलमा अन्तिम ओभरमा २९ रन बनाउँदै खेल जित्ने कोलकाता पहिलो टोली हो ।
खेलको अन्तिम ओभरमा जितका लागि कोलकातालाई २९ रनको आवश्यकता थियो । क्रिजमा कोलकाताका उमेश यादव र रिंकु सिंह थिए । गुजरातका अन्तिम ओभर बलिङका लागि आएका यस दयालको पहिलो बलमा उमेश यादवले एक रन लिए । त्यसपछि कोलकातालाई पाँच बलमा २८ रनको आवश्यकता थियो ।
तर, त्यसपछि रिंकुले लगातार ५ बलमा ५ छक्का प्रहार गरेपछि कोलकताले २०५ रनको विशाल विजयी लक्ष्य अन्तित बलमा ७ विकेट गुमाएर पूरा गर्यो । रिंकु आइपिएल इतिहासमै अन्तिम ओभरमा लगातार पाँच छक्का हान्दै सनसनीपूर्ण जित दिलाउने पहिलो खेलाडी बन्न पुगेका छन् । रिंकु खेलको प्लेयर अफ द म्याच बने ।
कोलकाताको रोमान्चक जितमा नायक बनेका रिंकु २१ बलमा १ चौका र ६ छक्कासहित ४८ रनमा अविजित रहेका थिए । वेंकटेश ऐरले ४० बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिएका थिए । कप्तान नितिश रानाले २९ बलका ४ चौका र ३ छक्कासहित ४५ रन बनाए । रहमनुल्लाह गुबर्जले १५ रन जोडेका थिए ।
गुजरातका लागि राशिद खानले ४ ओभरमा ३७ रन खर्चेर ह्याट्रिक विकेट लिएका थिए । अल्जारी जोशेफले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी र जोश लिटिलले समान एक/एक विकेट लिए । यश दयाल ४ ओभरमा ६९ रन खर्चिएर आइपिएलमा एकै इनिङमा सर्वाधिक रन खर्चिने दोस्रो खेलाडी बने । सर्वाधिक धेरै हैदराबादका बसिल थाम्पीले २०१८ मा बेंगलोरविरुद्ध ७० रन खर्चिएका थिए ।
त्यसअघि, घरेलु मैदान टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । गुजरातका लागि विजय शंकर २४ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन । साई सुदर्शनले ३८ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाएका थिए ।
ओपनर शुभमन गिल ३१ बलमा ५ चौकासहित ३९ रनमा आउट भए । ओपनर ऋद्धिमान शाहले १७ बलमा ३ चौकासहित १७ रन र अभिनव मनोहरले १४ रन बनाएका थिए । कोलकाताका लागि सुनिल नारायणले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । सुयश शर्माले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए ।
तीन खेलमा दुई जित हात पारेको गुजरात ४ अंकका साथ चौथो स्थानमा रहेको छ । गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेट र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो । गुजरातले अव बिहीबार पन्जाब किंग्ससँग खेल्नेछ ।
तेस्रो खेलमा दोस्रो जित निकालेको कोलकत्ता ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । कोलकाता पहिलो खेलमा पन्जाबसँग ७ रनले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले हराएको थियो । कोलकाताले अव शुक्रबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।