काठमाडौं । अर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । सेन्ट मेरिज रंगशालामा शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु टाेली साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराएको हो ।
म्यानचेस्टर सिटीको फराकिलो जितमा चोटमुक्त भएर फर्किएका एर्लिङ ब्राउट हालान्डले दुई गोल गरे । ज्याक ग्रेलिस र जुलियन अल्भारेजले समान एक/एक गोल गरेका थिए । साउथह्याम्पटनका सेकोउ माराले एक गोल फर्काए ।
घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको सिटीले पहिलो गोलको लागि पहिलो हाफको अन्तिम समय सम्म कुर्नुपरेको थियो । पहिलो हाफको इन्जुरी समयमा केभिन डि ब्रुएनाको पासमा हालान्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दा सिटीको अग्रता दोब्बर बन्यो ।
खेलको ६८ औं मिनेटमा ग्रेलिसको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाएका थिए । हालान्डको यो २७ खेलबाट ३० औं गोल हो । जारी लिगमा धेरै गोल गर्ने खेलाडीको सुचीमा हालान्ड शीर्ष स्थानमा रहेका छन् । दोस्रो स्थानका ह्यारी केनले २३ गोल गरेका छन् । हालान्ड कीर्तिमान बनाउनबाट पाँच गोलले मात्र पछाडि छन् ।
खेलको ७२ औं मिनेटमा सेकोउ माराले गोल गर्दै साउथह्याम्पटनलाई ३-१ को स्थितिमा ल्याएका थिए । त्यसपछि, खेलको ७५ औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई ४-१ को फराकिलो जित दिलाए । अल्भारेज खेलको ६८ औँ मिनेटमा इर्लिङ हालान्डको स्थानमा मैदान छिरेका थिए ।
जितसँगै म्यानचेस्टर सिटीले २९ खेलबाट ६७ अंक जोडेको छ । जुन शीर्ष स्थानको आर्सनलभन्दा पाँच अंकले पछाडि हो । आर्सनलले २९ खेलबाटै ७२ अंक जोडेको छ । शीर्ष क्लब आर्सनलले आइतबार राति लिभरपुलको भ्रमण गर्नेछ । पराजित साउथह्याम्पटन २३ अंक जोडेर पुछारमा रहेको छ ।