काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल एसिया छनोट अन्तर्गतको पहिलो चरणको दोस्रो खेलमा नेपाललाई हराउँदै भियतनाम दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली नेपालमाथि २-० गोलको जित दर्ता गर्दै भियतनाम दोस्रो चरणमा प्रवेश गरेको हो ।
भियतनामका जितमा दुबै गोल पाम हाइ यनले गोल गरेकी थिइन् । खेलको छैटौं मिनेटमा गुएँ थि माइ आङको कर्नरमा पाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
खेलको सातौं मिनेटमा पाम हाइ यनले व्यक्तिगत दोस्रो गोल गर्दै भियतनामलाई २-० को अग्रता दिलाईन् । भियतनामका ट्रान थि थु थाओको लामो क्रसमा नेपालका तीन डिफेन्डरको बीचमा रहेकी पाम हाइ यनले बल नियन्त्रणमा लिदै उत्कृष्ट गोल गरेकी थिइन् ।
खेलको २३ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीको प्रहार भियतनामका गोलरक्षक खोंग थि हांगले जोगाइन् । खेलको ३९ औं मिनेटमा सावित्राले नै डिफेन्स लाइन तोड्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक हांग बाधक बनेकी थिइन् ।
दोस्रो हाफमा नेपालले गोलरक्षक एन्जिलाको स्थानमा अन्जना राना मगरलाई मैदान उतारेको थियो । भियतनामविरुद्ध दोस्रो हाफमा नेपालले हाबी भएपनि केहि गोलको सुनौलो मौका भने खेर फालेको थियो । खेलको ६६ औं मिनेटमा दिपा शाहीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टमा लाग्दै फर्केको थियो ।
समूह ‘सी’मा नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि थिए । तर, प्यालेस्टाइन र अफगानिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र दोेस्रो चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गरेका हुन् ।
नेपालमाथि लगातार दुई जित निकालेसँगै भियतनाम दोस्रो चरणमा प्रवेश गरेको छ । भियतनामसँग २-० ले पराजित भएसँगै नेपाल समग्रमा ७-१ ले पराजित हुँदै पेरिस ओलम्पिक २०२४ छनोटको यात्रा सकिएको छ । बुधबार भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोल अन्तरले पराजित गरेको थियो ।