काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्षस्थानमा रहेको नेपोलीले जित निकाल्दा इन्टर मिलान र एसी मिलान बराबरीमा रोकिएका छन् । लेसमा शुक्रबार राति भएको खेलमा नेपोलीले घरेलु टोली लेसमाथि २-१ गोल अन्तरको संघर्षपुर्ण जित निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
पाहुना टोली नेपोलीको जितमा जियोभानी डि लोरेन्जोले एक गोल गर्दा एक आत्मघाती गोल उपहार पाएको थियो । लेसका फेडरिको डि फ्रान्सिस्कोले गोल फर्काएका थिए । खेलको १८ औं मिनेटमा मिन जाई किमको क्रसमा जियोभानी डि लोरेन्जोको उत्कृष्ट हेडर गोलबाट नेपोलीले सुरुवाती अग्रता लिएको थियो ।
लेसका फेडरिकोले खेलको ५२ औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर, खेलको ६४ औं मिनेटमा मारियो रुईको क्रसमा एन्टोनीनो गालोले आत्मघाती गोल गरेपछि नेपोली खेलमा २–१ ले अघि बढेको थियो । त्यसपछि, थप गोल निस्कन नसक्दा नेपोली विजयी हुन सफल भयो ।
गत आइतबार एसी मिलानसँग ४–० ले पराजित नेपोलीले यस जितपछि उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । पछिल्लो पटक डिएगो म्याराडोनाको पालामा १९९० मा लिग उपाधि जितेको नापोली ३३ वर्षपछि फेरि उपाधि नजिक पुगेको हो ।
जितसँगै शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ । नेपोलीको २९ खेलबाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको लाजियोको ५५ अंक रहेको छ । पराजित लेस २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
इन्टर मिलानको घरेलु टोली सालेरनिटानासँग १–१ गोलको बराबरी
सिरी ‘ए’ को अर्काे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर मिलान घरेलु टोली सालेरनिटानासँग १–१ गोलको बराबरीमा रोकिएको छ । इन्टर मिलानका रोविन गोसेन्सले गोल गर्दा घरेलु टोली सालेरनिटानाका एन्टोनियो कानड्रेभाले खेलको अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । यस बराबरीसँगै इन्टर मिलान २९ खेलबाट ५२ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । सालेरनिटाना २९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
एसी मिलान र इम्पोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडे
सिरी ‘ए’ को अर्काे खेलमा एसी मिलान र इम्पोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ८९ औं मिनेटमा ओलिभर जेरुडको गोलले मान्यता नपाएपछि मिलानले बराबरी खेल्नु परेको थियो । भीएआरमा गोल अघि फउल देखिएको कारण जेरुडको गोलले मान्यता नपाएको हो । यस बराबरीसँगै एसी मिलान २९ खेलबाट ५२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । इम्पोली ३२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।