काठमाडौँ । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणको खेलमा नेपालले भियतनामसँग हार ब्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
भियतनामको सहज जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् । फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले समान एक/एक गोल गरिन् । नेपालका सावित्रा भण्डारीले एक गोल फर्काईन् ।
खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङदिएको क्रसमा हाई येनले हेडरमार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् । यसअघि, खेलको दशौं मिनेटमा दिपा शाहीको क्रसमा डिफेन्स लाइन बिट भइसकेको अवस्थामा अमिषा कार्कीले वन भर्सेस वनमा गोल गर्ने अवसर गुमाइन् ।
खेलको ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दा भियतनामले २-० को अग्रता बनायो । भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा भुजेलको हातमा लाग्दा भियतनामले पेनाल्टी पाएको थियो ।
खेलको ३८ औं मिनेटमा एनगुएन थि बिच थुएले गोल गरेपछि पहिलो हाफमा भियतनामले ३-० को अग्रता बनायो । खेलको ४८ औं मिनेटमा थि लोनको क्रसमा कप्तान न्हुले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि भियतनामलाई ४-० गोलको अग्रता दिलाईन् ।
नेपालका लागि खेलको ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले गोल गर्दै ४-१ को स्थितिमा ल्याईन् । त्यसपछि, खेलको इन्जुरी समयमा एनगुएन थिले ३५ यार्ड टाढाबाट शानदार गोल गर्दै भियतनामलाई ५-१ को सहज जित दिलाईन् ।
एसियन छनोटको समूह ‘सी’मा यसअघि नेपाल, भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन थिए । अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्र दुई खेल हुन लागेको हो । नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ । दुई खेलमा शीर्ष रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।