काठमाडौँ । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले आज बुधबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपालले बलियो प्रतिद्वन्दी भियतनामको सामना गर्न लागेको हो । खेल साँझ ६ बजे सुरुहुने छ ।
पहिलो चरणको छनोटको समूह ‘सी’मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । एसियन छनोटको समूह ‘सी’मा यसअघि नेपाल, भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन थिए । अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्र दुई खेल हुन लागेको हो । दुई खेलमा शीर्ष रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित प्रिपोस्ट म्याचमा मुख्य प्रशिक्षक थापाले फिफा वरियतामा नेपाल भन्दा निकै माथि रहेको टोलीबिरुद्ध राम्रो प्रदर्शन गर्दै भियतनामसँग आफूहरूको स्तर परीक्षण गर्ने अवसर भएको प्रतिक्रिया दिएका छन् ।
ओलम्पिक छनोट प्रतियोगितामा नेपालले प्रमुख खेलाडीको साथ पाउनेछैन । नेपाली टोलीकै प्रमुख खेलाडी मानिने गीता राना र प्रीति राई चोटग्रस्त छन् । दुवैजना भियतनामविरुद्ध खेल्नेछैनन् । प्रतिस्पर्धामा यी दुई खेलाडीको कमी आउने प्रशिक्षक थापाले बताए ।
फिफा वरीयतामा समेत आफूभन्दा निकै माथि रहेको भियतनामविरुद्ध नेपालले चुनौती प्रस्तुत गर्ने अपेक्षा राखेको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक अनन्तराज थापा र कप्तान एन्जिला तुम्बापो सुब्बाले दशरथ रंगशालामा चुनौती प्रस्तुत गर्ने बताए । फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा छ ।
यस्तै भियतनामका प्रशिक्षक माइ डक चुङले लामो यात्रापछि नेपालमा आएर फुटबल खेल्नका लागि आफ्नो टोली उत्साहित भएको बताए । प्रशिक्षक चुङले नेपाली टोलीसँग यसअघि कहिल्यै पनि नखेलेको तर राम्रो खेल्ने सुनेको भन्दै घरेलु टोलीबिरुद्ध जित निकै महत्वपूर्ण हुने बताए । नेपाली टोलीमा स्ट्राइकर सावित्रा भण्डारी राम्रो रहेको सुनेको र उनलाई रोक्दै खेल्ने रणनीति बनाएको समेत बताएका छन् ।
भियतनाम टोलीकी कप्तान हुइङ निङले नेपालबिरुद्ध हुने खेलमा जित निकाल्ने लक्ष्यका साथ भ्रमण गरेको बताइन् । प्रतिष्पर्धा गर्ने टोलीको वरियता जुन कुनै अवस्थामा रहेपनि सम्मान गर्दै खेल्ने समेत निङले बताइन् । निङले एकै राष्ट्रविरुद्ध एकै छनोटमा दुईपटक प्रतिस्पर्धा गर्नुपर्दा आफूलाई अनौठो लागेको बताइन् ।
नेपाल दक्षिण एसियाली क्षेत्रको उपविजेताभन्दा माथि उठ्न सकेको छैन । नेपालले ओलम्पिक छनोटको तयारीका लागि गत महिना भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले भारतलाई दुईवटै खेलमा बराबरीमा रोकेको थियो । भियतनाम गत वर्ष भारतमा भएको एसिया कपमा क्वार्टरफाइनलसम्म पुगेको थियो ।