काठमाडौं । नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा जित निकालेको छ । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ४-२ गोल अन्तरले हराएको हो ।
यस जितसँगै बायर्न पुनः शीर्ष स्थानमा फर्किएको छ । बायर्नले २६ खेलबाट ५५ अंक जोडेको छ । अघिल्लो खेलमा बायर्न बायर लेभरकुसेनसँग २–१ ले पराजित भएपछि दोस्रो स्थानमा झरेको थियो । पराजित डर्टमण्ड भने दोस्रो स्थानमा झरेको छ । डर्टमण्डले २६ खेलबाट ५३ अंक जोडेको छ ।
लेभरकुसेनसँग पराजित भएपछि बायर्नले युलियन नागेल्समनलाई बर्खास्त गरेर टुचेललाई नियुक्त गरेको थियो । घरेलु मैदानमा बायर्नको जितमा थोमस मुलरले दुई तथा किङ्सले कोमानले एक गोल गरे । बायर्नले एक आत्मघाती गोल उपहार पाएको थियो । डर्टमुन्डका इम्री क्यान र डोनेल मालेनले समान एक/एक गोल फर्काएका थिए ।
खेलको १३ औं मिनेटमा ग्रेगर कोवेलको आत्मघाती गोलबाट बायर्नले सुरुआती अग्रता बनाएको थियो । खेलको १८ औं मिनेटमा म्याथिज डे लेग्टको पासमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाएका थिए । २३ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।
खेलको ५० औं मिनेटमा लिरोए सानेको पासमा किङ्स कोमानले गोल गर्दै बायर्नलाई ४–० ले अघि बढाएका थिए । ७२ औँ मिनेटमा इमरे क्यानले पेनाल्टीमा गरेको गोलबाट डर्टमण्डले पुनरागमनको प्रयास गरेको थियो । त्यसपछि, खेलको अन्तिम मिनेटमा डोनेल मालेनले गोल गर्दै डर्टमण्डको अन्तर कम गरेपनि बायर्न ४-२ ले विजयी भयो ।
गएराति सम्पन्न बुन्डेसलिगाको अन्य खेलमा तेस्रो स्थानको युनियन बर्लिनले भीएफबी स्टुटगार्टलाई ३–० ले हरायो । युनियन बर्लिनले २६ खेलबाट ५१ अंक जोडेको छ । चौथो स्थानको फ्रेइबर्गले हेर्था बर्लिनविरुद्ध १–१ को बराबरी खेल्यो । पाँचौँ स्थानको लाइपजिगले आठौँ स्थानको मेइन्जलाई ३–० ले पराजित भयो । सातौँ स्थानको बायर लेभरकुसेनले १७ औँ स्थानको साल्केलाई ३–० ले हरायो । नवौँ स्थानको उल्फबर्गले १२ औँ स्थानको औसबर्गसँग २–२ को बराबरी खेल्यो ।