काठमाडौं । घरेलु टोली नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनल खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै लाओसलाई २-१ गोल अन्तरले हराएको हो ।
लाओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बनेको हो । नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक/एक गोल गरेका थिए । लाओसका फौथाभोङ साङभिले एक गोल गरे । पहिलो हाफ एक/एक गोलको बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा लाओसविरुद्ध आक्रामक खेल खेलेको थियो ।
खेलको १७ औं मिनेटमा बोनपाचन बोनकोङकोको पासमा फौथाभोङ साङभिले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको थियो । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको सुन्दर गोल गरेका थिए ।
खेलको ७४ औं मिनेटमा नवीन लामाको प्रहारलाई गोलरक्षकले पञ्च गर्दा रिबाउन्ड बललाई मनिषले पोस्ट भित्र छिराएपनि त्यो गोल अफ साइड भयो । त्यसपछि, खेलको ८७ औं मिनेटमा अन्जनले दिएको पासमा मनिषले सानदार गोल गर्दै नेपाललाई २-१ को जित दिलाएका थिए ।
नेपालको जितमा निर्णायक गोल गरेका विंगर मनिष डाँगी खेलको 'म्यान अफ द म्याच' बने । उनले २ सय ५० अमेरिकी डलर पुरस्कार पाए । भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए ।
नेपालको जितमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासी पनि सफल देखिएका छन् । प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो प्रतियोगिताबाटै उनले नेपाललाई उपाधि दिलाएका छन् ।
नेपालले घरेलु मैदानमा दोस्रो पटक थ्री नेसन्सको उपाधि जितेको हो । यसअघि, नेपालले २०७७ सालमा बंगलादेशलाई हराउँदै च्याम्पियन बनेको थियो । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेता लाओसले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।
नेपालका आयुष घलान 'म्यान अफ द टुर्नामेन्ट' घोषित भएका छन् । उनले ५०० डलर पुरस्कार पाएका छन् । फाइनल खेलमा एक गोल गरेका आयुश भुटानविरुद्दको खेलमा 'प्लेयर अफ दि म्याच' बनेका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राई लगायतले पुरस्कृत गरेका थिए ।