काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आज शुक्रबारबाट सुरू हुँदैछ । उद्घाटन खेलमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
त्यसअघि उद्घाटन समारोहको आयोजना गरिएको छ । ३ वर्षदेखि कोरोनाका कारण आईपीएलको उद्घाटन समारोह रोकिएको थियो । उदघाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन् ।
दुवै टिम जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्यमा रहने छन् । गुजरात हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् । भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।
होम एण्ड अवे प्रणालीमा हुने आईपीएलमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकत्ता नाईटराईडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनाउ सुपर जायन्ट्स रहेका छन् । यस्तै, समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, सनराईजर्स हैदरावाद, गुजरात टाईटन्स, रोयल च्यालेन्जर्स बेंग्लोर र पन्जाब किंग्स रहेका छन् ।
हरेक टिमले आफ्नो समूहमा रहेका चार टिमसँग दुई/दुई पटक गरी कूल ८ खेल खेल्नेछन् । यस्तै अर्को समूहको चार टिमसँग एक/एक पटक गरी चार खेल खेल्नेछन् । यस बाहेक अर्को समूहको एक टिमसँग भने दुई पटक खेल्नेछन् । यसका अनुसार लिग चरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछ । ७४ खेल खेलिने आईपीएल आगामी मे २८ सम्म जारी रहने छ ।