काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधिका लागि आज शुक्रबार नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा आयोजक नेपाल र लाओस भिड्दै छन् । खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
फिफाले यस प्रतियोगिताको लिग चरणका खेललाई मात्र मान्यता दिएको थियो । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सिमित अवधिमा तोकिएको खेललाई मात्रै आधिकारिकता दिने गर्दछ । फिफाबाट अधिकारिक मान्यता नपाउने भएपनि यो फाइनल खेल दुवै टोलीलाई मनोबल उच्च पार्न महत्वपूर्ण खेल हुनेछ ।
नेपालका कप्तान किरण चेम्जोङले फिफा डे मा नभएपनि टोलीको मनोबलको लागि यो खेल महत्वपूर्ण रहेको बताएका छन् । ‘‘फाइनलका लागि मानसिक रुपमा तयार छौँ । लाओसलाई हामीले यही प्रतियोगितामा हराइसकेका छौँ । खेलमा राम्रो नतिजा निकाल्ने विश्वास छ,” नेपालका प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले भनेका छन् ।
घरेलु समर्थकको साथ पाउने नेपाल लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो ।
दोस्रो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल चार अंकसहित फाइनल प्रवेश गरेको थियो । यता, पहिलो खेलमा नेपालसँग पराजित लाओसले भने दोस्रो खेलमा भुटानविरुद्ध २–१ को जित निकाल्दै दोस्रो स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो ।
लाओसका मुख्य प्रशिक्षक माइकल वाइसले घरेलु टिमविरुद्धको उपाधि भिडन्त रोचक हुने विश्वास व्यक्त गरेका छन् । घरेलु मैदानमा नेपाल स्वभाविक रूपमा दाबेदार भए पनि सहजै जित्न नदिने लाओसका प्रशिक्षक वाइसले बताएका छन् । लाओसका कप्तान सौकाफोन भोङ्चिइङखामले उपाधि जितेर घर फर्कने लक्ष्य रहेको बताएका थिए ।
एन्फाले प्रतियोगिताका लागि दुई फरक टिकट मूल्य राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ । रंगशालाको गेटमा भौतिक रुपमा समेत टिकट किन्न सकिनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्नेछ ।
प्रतियोगितामा भुटान, लाओस र नेपालले प्रतिष्पर्धा गरेका हुन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् । समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथिको रुपमा रहने छन् ।