काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा हुने एसिसी पुरुष प्रिमियर कपको लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।अर्को महिना कीर्तिपुरस्थित टियु र मुलपानी मैदानमा हुने एसिसी प्रिमियर कपको लागि कप्तान रोहित पौडेलको कप्तानीमा २१ सदस्य प्रारम्भिक टोली घोषणा गरेको हो ।
उक्त प्रारम्भिक टोलीमा यू–१९ क्रिकेट टिमका कप्तान देव खनाललाई पनि समाबेश गरिएको छ । देव खनाल ७ महिनापछि सिनियर टोलीमा पूनरागमन भएका छन् । देवले यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई अपराजित रहँदै आगमी वर्ष श्रीलंकामा हुने विश्वकपमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । टोलीमा अर्जुन साउदलाई पनि समेटेको छ । टोलीमा अन्य परिवर्तन भने छैन ।
एसियन क्रिकेट काउन्सिल(एसीसी) को आयोजनामा हुने १० राष्ट्र सम्मिलित प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ । समूह 'ए' मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह 'बी' मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । यस्तै, शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।
नेपालले मलेसियासँग पहिलो खेल वैशाख ५ गते (अप्रिल १८) टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१) ओमानसँग टियुमा खेल्नेछ । नेपालले वैशाख ११ गते (२४ अप्रिल) साउदी अरेवियासँग मुलपानी मैदानमा खेल्नेछ । नेपालले वैशाख १४ गते (अप्रिल २७) कतारसँग टियु मैदानमा खेल्नेछ ।
सेमिफाइनल वैशाख १६ गते (अप्रिल २९) हुनेछ । फाइनल वैशाख १८ गते (मे १) टियुमा हुनेछ । तेस्रो स्थानको लागि वैशाख १७ गते (अप्रिल ३०) प्रतिस्पर्धा हुनेछ । सबै खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
नेपालको प्रारम्भिक टोली :
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।