काठमाडौं । कप्तान तथा फरवार्ड लियोनेल मेस्सीको ह्याट्रिक मद्दतमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सानदार जित निकालेको छ । अर्जेन्टिनामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाको फराकिलो जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गोल गरे । निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान एक/एक गोल गरेका थिए । गोलको वर्षा भएको एकपक्षीय खेलको १७ मिनेटभित्रै मेस्सीले ह्याट्रिक पूरा गरेका थिए ।
खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । खेलको ३३ औं मिनेटमा गोन्जालेजको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिना ३-० ले अघि बढेको थियो ।
खेलको ३५ औं मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दा अर्जेन्टिना ४-० ले अगाडी रह्यो । खेलको ३७ औं मिनेटमा क्यासिलोको पासमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ५-० को अग्रता दिलाएका थिए ।
ह्याट्रिकसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले १०२ गाेल गरेका छन् । उनीभन्दा अघि पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले १९८ खेलमा १२२ औं अन्तर्राष्ट्रिय गोल गरेका छन् । दोस्रो स्थानमा इरानका अली दाईले १०९ गोल गरेका छन् ।
खेलको ७८ औं मिनेटमा एन्जल डी मारियाले पेनाल्टीमार्फत गोल गर्दा अर्जेन्टिना ६-० ले अघि बढेको थियो । खेलको ८७ औं मिनेटमा डिबेलाको पासमा गोन्जालो मोन्टिएलले गोल गर्दै घरेलु टोली अर्जेन्टिनालाई ७-० को फराकिलो जित दिलाएका थिए ।