काठमाडौं । । दिपक राज सिंह ठकुरीले गोल गरेपछि नेपाल भुटानसँग बराबरी खेल्दै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो ।
फितलो प्रदर्शन गर्दै हारतर्फ उन्मुख देखिएको नेपाली टोलीले अन्तिम समयमा गोल गरेको थियो । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि भुटानविरुद्ध खेलेका सबै १२ खेल नेपालले जितेको थियो । नेपालमाथि भुटानको यो ऐतिहासिक प्रदर्शन हो ।
खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा भुटानले पहिलोपटक नेपालविरुद्ध पहिले अग्रता बनाएको थियो ।
नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीले गोल गर्दै नेपालको हार टारेका हुन् । दीपकको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
खेलको ५० औं मिनेटमा भुटानका गोलरक्षक छिरिङ धेन्डुपसँग ठोकिँदा अञ्जन विष्ट घाइते हुँदै मैदानबाट बाहिरिएपछि दीपक मैदान छिरेका थिए । दीपकले लाओसविरुद्धको खेलबाट डेब्यु गरेका थिए । आयुष घलान खेलको खेलको 'म्यान अफ दि म्याच' चुनिए । भुटानविरुद्ध उच्च प्रदर्शन गरेका आयुषले अवार्डसहित २ सय ५० अमेरिकी डलर जितेका छन् ।
भुटान नेपालसँगको अन्तिम समयको बराबरीसँगै प्रतियोगिताबाट बाहिरिँदा लाओसले भने फाइनलमा स्थान बनाएको छ । पहिलो खेलमा नेपालसँग २-० ले हारेको लाओसले भुटानलाई २-१ हराएको थियो ।
नेपाल ४ अंकसहित शीर्षस्थानमा रहँदा लाओस ३ अंकले दोस्रो भयो । बराबरीसँगै भुटान १ अंक जोड्दै समूह चरणबाट बाहिरिएको छ । अब प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओस १७ गते प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।