काठमाडौं । आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार लिग चरणको अन्तिम खेलमा भुटानसँग भिड्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
घरेलु टोली नेपालले पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २-१ ले पराजित भएको थियो । नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ ।
भुटानका लागि भने फाइनलमा स्थान बनाउन आजको खेलमा फराकिलो जितको विकल्प छैन । लाओसविरुद्ध भुटानले हार बेहोरेपनि कप्तान चेन्चो ग्याल्सेनले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका थिए । नेपाल भुटानसँग अहिलेसम्म पराजित भएको छैन । १२ खेलमध्ये सबै खेलमा नेपाल विजयी भएको छ ।
तर, नेपाल यतिबेला फरक परिस्थितिबाट गुज्रिएको छ । इतिहासमै पहिलोपटक नेपाली फुटबल खेलाडी ठूलो संख्यामा विदेसिएका छन् । लाओसविरुद्धको पहिलो खेलमा रक्षात्मक रणनीति अपनाएका नयाँ प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आज भुटानविरुद्ध फरक रणनीति अपनाउने संकेत दिएका छन् ।
नेपालका लागि स्टार फरवार्ड अन्जन विष्ट प्रशिक्षणमा सुरक्षा मास्क लगाएर उपस्थित रहेका थिए । अन्जनले भुटानविरुद्ध आजको खेलमा खेल्ने सम्भावना रहेको छ । नेपालले १ खेलमा ३ अंक जोडेको छ । लाओसको पनि २ खेलमा ३ अंक रहेको छ । भुटानले अंक जोड्न सकेको छैन ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।
एन्फाले प्रतियोगिताका लागि दुई फरक टिकट मूल्य राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्नेछ ।