काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोको उच्च प्रदर्शनमा युरोकप छनोट प्रतियोगितामा पोर्चुगलले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई ६-० को फराकिलो गोल अन्तरले हराएको हो । कतार विश्वकपपछि पोचुगलको यो लगातार दोस्रो जित हो ।
पोर्चुगलको सानदार जितमा कप्तान रोनाल्डोले दुई गोल गरे । जोआओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफयल लियोले समान एक/एक गोल गरेका थिए । पोर्चुगलले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थप्दै फराकिलो जित निकाल्न सफल भयो ।
लक्जेमवर्गमा गोलको वर्षा भएको एकपक्षीय खेलको नवौं मिनेटमा रोनाल्डोको गोलबाट पाहुना टोली पोर्चुगलले सुरुआती अग्रता लिएको थियो । खेलको १५ औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए ।
खेलको १८ औं मिनेटमा जोओ पाल्हिन्हाको पासमा बर्नाडो सिल्भाले गोल गरेपछि पोर्चुगल ३–० ले अघि बढ्यो । ३१ औ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ४–० को अग्रता लिन सफल भयो । यससँगै रोनाल्डोले १९८ खेलमा १२२ औं अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । दोस्रो स्थानमा इरानका अली दाईले १०९ गोल गरेका छन् । तेस्रो स्थानमा रहेका लियोनल मेस्सीले ९९ गोल गरेका छन् ।
खेलको ७७ औं मिनेटमा ७५ औं मिनेटमा फेलिक्सको स्थानमा मैदान छिरेका ओटाभियोले अर्का परिवर्तित खेलाडी राफयल लियो पासमा गोल गरेपछि पोर्चुगल ५–० ले अघि बढ्यो । खेलको ८५ औं मिनेटमा राफयल लियो पेनाल्टीमा चुकेपनि उनले ८९ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई ६–० को सानदार जित दिलाएका थिए ।
गएराति यही समूहको अर्काे खेलमा स्लोभाकियाले बोस्निया हर्जगोभिनालाई २–० ले तथा आइसल्यान्डले लिचेस्टाइनलाई ७–० ले हराएको थियो । युरोकप छनोट प्रतियोगिताको समूह ‘जे’मा ६ अंक जोडेर पोर्चुगल शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको स्लोभाकियाले ४ अंक जोडेको छ ।
बोस्निया हर्जगोभिना तीन अंकका साथ तेस्रो स्थानमा रहेको छ । समान तीन अंक जोडेको आइसल्यान्ड चौथो स्थानमा रहेको छ । एक अंक जोडेको लक्जेमवर्ग पाँचौँ र अंकविहीन लिचेस्टाइन छैटौँ स्थानमा रहेको छ ।