काठमाडौं । युरोकप छनोट अन्तर्गत ह्यारी केनले कीर्तिमानी गोल गरेको खेलमा इंग्ल्यान्डले युरोपियन च्याम्पियन इटालीमाथि जित निकालेको छ । डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २-१ गोल अन्तरले हराएको हो ।
इंग्ल्यान्डको जितमा डिक्लेन राइस र कप्तान ह्यारी केनले गोल गरे । घरेलु टोली इटालीका माटियो रेटेगुईले एक गोल फर्काएका थिए । खेलको १३ औं मिनेटमा डिक्लेन राइसले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा कप्तान केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । बुकायो साकाको कर्नरमा जियोभानी डि लोरेन्जोले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायतामा इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गर्दा केन चुकेनन् ।
यस गोलसँगै कप्तान ह्यारी केन इंग्ल्यान्डका लागि सर्वाधिक धेरै गोल गर्ने खेलाडी बनेका छन् । इंग्ल्यान्डबाट केनको यो ५४ औँ गोल हो । पूर्व स्ट्राइकर बायन रुनीले १२० खेलमा ५३ गोल गरेका थिए । केनले ८१ खेलमा यो सफलता हासिल गरेका हुन् । केन आफ्नो क्लब टोटेनहमका पनि सर्वाधिक गोलकर्ता हुन् ।
खेलको ५६ औं मिनेटमा लोरेन्जो पेलिग्रेनीको पासमा माटियो रेटेगुईले गोल गर्दै इटालीलाई खेलमा फर्कने संकेत देखाएका थिए । ८० औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो दुई मिनेटको अन्तरमा लुका शा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । तर, त्यसको फाइदा इटालीले उठाउन नसक्दा पराजय भोग्न पुग्यो ।
इंग्ल्यान्डले उसैको मैदानमा इटालीलाई सन् १९६१ पछि पहिलो पटक हराएको छ । यस जितसँगै तीन अंक जोडेको इंग्ल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ । समान तीन अंक जोडेको नर्थ म्यासेडोनिया दोस्रो स्थानमा छ । युरोपियन च्याम्पियन इटाली पुछारमा रहेको छ ।
यही समूहको अर्काे खेलमा नर्थ म्यासेडोनियाले माल्टालाई २–१ गोल अन्तरले हराएको थियो । म्यासेडोनियाका इल्जिफ इल्मास र डार्काे चुर्लिनोभले गोल गरे । माल्टाका यानकाम यान्निकले गोल फर्काएका थिए ।