काठमाडौं । युरोकप छनोट अन्तर्गत कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले सानदार जित निकालेको छ । स्टेडियो जोश अल्भालेड लिस्वोआमा बिहीबार राति भएको खेलमा पोर्चुगलले लिचेस्टाइनलाई ४-० गोल अन्तरले हराएको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । जोआ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक/एक गोल गरे । घरेलु मैदानमा खेलको आठौं मिनेटमा जोआ क्यान्सेलोले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा १–० को सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४७ औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए । खेलको ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दा पोर्चुगलको अग्रता तेब्बर बन्यो । त्यसपछि, खेलको ६३ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाएका थिए ।
यस खेलसँगै ३८ वर्षिय क्रिस्टियानो रोनाल्डो पोर्चुगल लागि सर्वाधिक धेरै १ सय ९७ औं अन्तराष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बनेका छन् । रोनाल्डोले कतार विश्वकपमा १९६ औं अन्तराष्ट्रिय खेल खेल्ने कुवेतका फरवार्ड बदेर अल–मुतावासँग बराबरी गरेका थिए । लिचेस्टाइनविरुद्धको दुई गोलसँगै रोनाल्डोले कीर्तिमानी १ सय २० अन्तराष्ट्रिय गोल गरेका छन् ।
सन् २००३ मा पोर्चुगलको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डो कतार विश्वकपमा पाँच विश्वकपमा गोल गर्ने पहिलो व्यक्ति बनेका थिए । गत नोभेम्बरमा, ८ सय गोल गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोको नाममा क्लब र देश दुवैमा कीर्तिमान रहेको छ ।
यस जितसँगै समूह 'जे' को पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ । यही समूहको अर्काे खेलमा बोस्निया एन्ड हर्जगोभिनाले आइसल्यान्डलाई ३–० ले पराजित गरेको छ । बोस्नियाको जितमा रेड क्रुनिकले दुई तथा अमर डेडिकले एक गोल गरेका थिए ।