काठमाडौं । आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा लाओसलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो ।
घरेलु टोली नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । नेपालका लागि अनन्तको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको नेपालले खेलको ५६ औं मिनेटमा अग्रता दोब्बर बनायो । नेपालको लागि कप्तान किरण चेम्जोङको लामो पासमा स्ट्राइकर नवयुग श्रेष्ठले करिव ३५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । नेपालका लागि नवयुगको यो आठौं अन्तर्राष्ट्रिय गोल हो ।
खेलमा लाओसले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेन । लाओससँगको खेलमा नेपालका चार खेलाडीले डेब्यु गरे । नेपालका लागि सनिश श्रेष्ठ, मणि लामा, दिपकराज सिंह ठकुरी र सुमित श्रेष्ठले डेब्यू गरेका हुन् । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।
नेपालका अनन्त तामाङ खेलको म्यान अफ दि म्याच चुनिए । आजदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपाल, भुटान र लाओस सहभागी छन् । अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ । नेपालले अब १४ गते भुटानसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।