काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत आज बुधबार नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंशालामा आजदेखि सुरु हुने फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जित्दा पेनाल्टीमा कप्तान किरण नायक बनेका थिए ।
नेपाली टोलीका कप्तान किरण चेम्जोङले मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा छोटो तयारी भएपनि लाओसविरुद्ध खेल्न नेपाली टोली तयार रहेको बताएका छन् । मुख्य प्रशिक्षक अल्बर्टो भिसेन्जो एनेसले प्रतियोगिताका लागि आफुले उत्कृष्ट खेलाडी छनोट गरेको तयारी राम्रो भएको समेत बताएका थिए ।
प्रधानमन्त्री थ्री नेसन्स कपका लागि मुख्य प्रशिक्षक एनेसले ६ नयाँ अनुहार र केही पुराना खेलाडीलाई टोलीमा समेट्दै २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका छन् । सुमित श्रेष्ठ, मणि कुमार लामा, सनिस श्रेष्ठ, पदम भट्टराई, अभिषेक बराल र दीपकराज सिंह ठकुरी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।
यस्तै, लामो समयपछि फरवार्ड भरत खवास, मिडफिल्डर नवीन लामा र डिफेन्डर आदित्य चौधरीले टोलीमा पूनरागमन गरेका छन् । एनेसले घोषणा गरेको टिममा मिडफिल्डर सुजल श्रेष्ठ र फरवार्ड विमल घर्तिमगरले भने स्थान बनाउन सकेनन् ।
लाओसका मुख्य प्रशिक्षक माइकल वेसले मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा आफुसँग युवा टोली रहेको बताउँदै राम्रो नतिजाकै लागि खेल्ने बताएका छन् । लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलोपटक नेपाल आउँदा खुशी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताएका थिए । उनले घरेलु टोली नेपालविरुद्ध लाओसको फुटबल देखाउने बताएका छन् ।
प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । प्रतियोगितामा चैत ११ गते भुटान र लाओस भिड्नेछन् । यस्तै, चैत १४ गते नेपाल र भुटान भिड्नेछन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।
प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट मूल्य सामान्य प्यारापिटतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकेको छ । प्रतियोगिताको टिकट खल्ती एपबाट किन्न सकिनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एनटिभी प्लसबाट हुनेछ ।