काठमाडौँ । लेजेन्ड्स लिग क्रिकेटको उपाधि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आबद्ध एसिया लायन्सले जितेको छ । दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार राती सम्पन्न फाइनल खेलमा वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै एसिया च्याम्पियन बनेको हो ।
वर्ल्ड जायन्ट्सले जितको लागि दिएको १ सय ४८ रनको लक्ष्य एसीयन लायन्सले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । एसियाको जितमा ओपनरद्वय उपुल थरंगा र तिलकरत्ने दिलशानले अर्धशतीय इनिङ्स खेलेका थिए ।
तिलकरत्ने दिलशानले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । उपुल थरंगा २८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रनमा आउटभएका थिए । उनीहरुबीचमा पहिलो विकेटका लागि १ सय १५ रनको सानदार शतकीय साझेदारी भएको थियो ।
उपुल थरंगा ‘म्यान अफ दी सिरिज’ भए । मिस्बा उल हक तथा मोहम्मद हाफिज समान ९/९ रनमा अविजित रहेका थिए । वर्ल्ड जायन्ट्सका लागि मोन्टि पेनिसर, समित पटेल र ब्रेट लीले समान १/१ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको वर्ल्ड जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । वर्ल्ड जायन्ट्सका लागि दक्षिण अफ्रिकी अलराउन्डर ज्याक कालिसले ५४ बलमा ५ चौका र र ३ छक्कासहित अविजित ७८ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।
वर्ल्ड जायन्ट्सको सुरुवात खराब रह्यो । मोर्ने भान विक शून्य रनमै पभेलियन फर्किएका थिए । कप्तान शेन वाट्सनले पनि खाता नै नखोली पभेलियन फर्किएपछि वर्ल्ड जायन्ट्स दबावमा आएको थियो । यस्तै अर्का ओपनर लेन्डल सिमोन्स ९ रनमा रनआउट भएका थिए ।
न्युजिल्यान्डका रस टेलर ३३ बलमा ३ चौकासहित ३२ रनमा आउट भए । ओपनर लेन्डल सिमन्स १६ बलमा १ चौका र १ छक्कासहित १७ रनमा रन आउट भए । एसियाका लागि अब्दुल रजाकले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । अब्दुल रजाक खेलको ‘म्यान अफ दी म्याच’ भए । थिसेरा परेराले एक विकेट लिएका थिए ।
नेपालका पारस खड्काको भने फाइनल खेलमा ब्याटिङ र बलिङ दुवै अवसर आएन । प्रतियोगितामा टोलीले खेलेको ६ मध्ये ५ खेलमा पारसले प्लेईङ-११ मा मौका पाएका थिए । दोस्रो खेलमा भने पारस टोलीमै परेका थिएनन् । पारसले दुई खेलमा १३ बलको सामना गरेर ११ रन बनाएका थिए ।