काठमाडौं । कतारमा जारी लिजेन्डस् क्रिकेट लिगमा पारस आबद्ध एसिया लायन्स फाइनलमा प्रवेश गरेको छ । दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा शनिबार राति भएको खेलमा इण्डिया महाराजलाई ८५ रनले हराउँदै नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आवद्ध एसिया लायन्स फाइनलमा प्रवेश गरेको हो ।
एसिया लायन्सले अब उपाधिको लागि सोमबार वल्ड जायन्ट्ससँग खेल्नेछ । गत संस्करणको विजेता इण्डिया महाराज भने यसपटक फाइनलसम्म पुग्न सकेन । एलिमिनेटर खेलमा एसिया लायन्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको इण्डिया महाराजले १६.४ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो ।
इण्डिया महाराजका लागि कप्तान गौतम गम्भीरले १७ बलमा ७ चौकासहित सर्वाधिक ३२, सुरेश रैनाले १८, रोबिन उथप्पाले १५ र मोहम्मद कैफले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
एसिया लायन्सका लागि सोहेल तनवीर, अब्दुर रज्जाक र मोहम्मद हफीजले समान दुई/दुई विकेट लिए । इसरु उडाना, कप्तान शाहिद अफ्रिदी र तिलकरत्ने दिलशानले समान एक/एक विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको एसिया लायन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । एसियाको जितमा ओपनर उपुल थरंगाले ३१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । थरंगा नै खेलको 'प्लेयर अफ द म्याच' चुनिएका थिए ।
अर्का ओपनर तिलकरत्ने दिलशान २६ बलमा २ चौकासहित २७ रनमा आउट भएका थिए । मोहम्मद हफिज २४ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । थिसेरा परेरा १२ बलमा ३ छक्कासहित २४ रनमा आउट भए । अस्गर अफगान २४ बलमा १ चौका र २ छक्कासहित ३४ रनमा अविजित रहेका थिए ।
इण्डिया महाराजका लागि स्टुअर्ट बिन्नी र प्रज्ञान ओझा समान दुई/दुई विकेट लिए । प्रबिन ताम्बेले एक विकेट लिएका थिए । ईलिमिनेटर खेलमा पारसले बलिङ र ब्याटिङको अवसर भने पाएनन् । एसियामा आवद्ध पारसले जारी सिजनको दुई खेलमा ब्याटिङ गर्ने अवसर पाएका छन् । पारसले पहिलो खेलमा २ बलमा ३ रन तथा टोलीको चौथो खेलमा १० बलमा ८ रन बनाएका थिए ।