काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युइएफए युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सेभिल्लामा बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा रियल बेटिसमाथि १–० को जित निकाल्दै समग्रमा ५–१ को नतिजा सहित युनाईटेड क्वार्टरफाइनल प्रवेश गरेको हो ।
युनाईटेडको जितमा मार्कोस रासफोर्डले निर्णायक गोल गरेका थिए । खेलको ५५ औं मिनेटमा क्यासमिरोको पासमा रासफोर्डले गोल गर्न सफल भएका थिए । रासफोर्डले यस सिजन युरोपा लिगमा ६ गोल पुरा गरेका छन् ।
रियल बेटिस घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग दवावमा रहेर खेलेको थियो । म्यानचेस्टर युनाईटेडले गोल गर्नुअघि घरेलु टोलीले रियल बेटिसले पेनाल्टीको अवसर पाएको थियो । तर टिमका कप्तान जोकिन साको पेनाल्टी प्रहार पोस्ट बाहिर रहन पुग्यो ।
म्यानचेस्टर युनाईटेडले युरोपा लिगमा अन्तिम ८ मा स्थान बनाउँदा अर्को इङ्लिस क्लब आर्सनल भने प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो लेगको खेलमा दुवै टिमले १–१ को गोलको बराबरी खेलेपछि नतिजा समग्रमा ३–३ को निस्किएको थियो । पेनाल्टी सुटआउट निर्णयमा आर्सनल ५–३ गोल अन्तरले पराजित बन्यो ।
दोस्रो लेगको खेलमा अग्रता आर्सनलले १९ औं मिनेटमा ग्रानिट झाकाको गोलमा लिएको थियो । खेलको ६२ औं मिनेटमा पोर्चुगलका परेसा गोन्साल्वेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
यस्तै, गयराति युरोपा लिगमा फेनब्रेचले सेभिल्लालाई १-० गोल अन्तरले पराजित गरे पनि पहिलो लेगको नतिजाका आधारमा सेभिल्ला २-१ ले अघि रहँदै अन्तिम ८ मा पुग्न सफल भयो । फेनोर्डले सख्तर डोनेस्कलाई ७-१ ले स्तब्ध बनायो । समग्रमा फोनोर्ड ८-२ को जितका साथ क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।
त्यस्तै, युनियन साइन्ट गिलोइसले युनियन बर्लिनमाथि ३-० को जित हात पारेको छ । समग्रमा युनियन साइन्ट ६-३ ले अघि रहँदै अन्तिम ८ मा प्रवेश गरेको छ । प्रतियोगिताको क्वार्टरफाइनल ड्र शुक्रबार हुनेछ ।