काठमाडौँ । नेपाल आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेल जितेर सोझै विश्वकप छनोटमा पुगेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएलएस पद्दतिको आधारमा ९ रनले हराएको हो ।
यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ । विश्वकप छनौटका खेल आगमी जुन जुलाईमा जिम्बावेमा हुनेछ । नेपाल लिग टूमा ३६ खेलबाट ४० अंकका साथ शिर्ष ३ मा रहदै छनौट भएको हो ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । खराब मौसम ब्याड लाइटको कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नतिजा तय गरिएको हो ।
नेपालको जितमा कुशल भुर्तेल, आरिफ शेख, भिम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेलेका थिए । नेपालका लागि गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे । दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहेका थिए । भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए ।
कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्ल ५ रनमा आउट भएका थिए । कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्याच आउट भए । आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भएका थिए । युएईका लागि जुनेद सिद्दिकीले ३ तथा आयान अफजल खानले २ र जाहोर खानले १ विकेट लिएका थिए ।
त्यसअघि, टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । ओडिआईमा नेपालविरुद्ध विपक्षी टोलीले बनाएको यो हालसम्मकै उच्च योगफल हो ।
युएईका लागि आसिफ खानले शतक बनाए । उनले ४१ बलमा १०० रन पूरा गरे । यो सँगै आसिफ ओडिआईमा सर्वाधिक कम बलमा शतक प्रहार गर्ने खेलाडि बने । आसिफ १०१ रनमा अविजित रहेका थिए ।
यस्तै, युएईका कप्तान मोहम्मद वासिम, वृत्य अरविन्दले पनि अर्धसतक प्रहार गरे । अरविन्द १३८ बलमा ९४ रन बनाए भने वासिम ४९ बलमा ६३ रन बनाएर आउट भए । रोहन मुस्तफा २० रन बनाएर आउट भएका थिए ।
नेपालको लागि दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ८० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ७४ रन खर्चेर १ विकेट लिए ।