काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ । यो खेल २०१९ बाट सुरु आईसीसी विश्वकप लिग–२ क्रिकेटको अन्तिम खेल हो ।
पाहुना टोली युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । युएईले ब्याटिङ रोजे पछि घरेलु टोली नेपालले पहिले बलिङ गर्न लागेको हो । नेपालका तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेर गुल्शन झालाई खेलाईएको छ । उता युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ ।
यूएईविरुद्ध प्रतिस्पर्धा गर्दा घरेलु टोली नेपाललाई जितको विकल्प छैन । किनकि, आईसीसी क्रिकेट विश्वकप लिग–२ का शीर्ष तीन टिमले मात्र जिम्बाब्वेमा आउँदो जुन १८ देखि जुलाई ९ सम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले नामिबियामा मार्च २४ देखि अप्रिल ४ सम्म हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।
यहि त्रिकोणत्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनको कीर्तिमानी रुपमा पराजित गरेको थियो । नेपाल आज पनि सोहि लय दोहोर्याउने लक्ष्यमा रहेको छ । नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले अहिलेसम्म ३ खेलमा जित निकालेको छ भने समग्रमा पछिल्ला ११ खेलमा १० खेलमा जित निकालेको छ ।
नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ । कुनै कारण खेल नतिजा विहीन हुँदै अंक बाँड्नु पर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ ।
अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा रहेको छ । युएई ३५ खेलमा १५ जित र १७ हारसहित ३३ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ भने ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ । पपुवा न्युगिनी ११ अंक जोड्दै पुछारमा रहेको छ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।