काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा युनाइटेड अरव इमिरेट्स(यूएई)ले पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा बुधबार भएको खेलमा यूएईले पिएनजीलाई ६ विकेटले हराएको हो ।
पीएनजीले जितको लागि दिएको २ सय ३५ रनको लक्ष्य युएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । युएईको जितमा कप्तान मोहम्मद वासिमले ७६ बलमा ६ चौका र १२ छक्कासहित १ सय १९ रनको कीर्तिमानी शतकीय इनिङ खेले ।
वासिमको यो ओडिआई करिअरको पहिलो शतक हो । वासिमले ६० बलमा ४ चौका र ११ छक्कासहित शतक पूरा गरेका थिए । जुन युएईबाट बनेको सर्वाधिक छिटो शतक हो । लिग –२ मा एकै ईनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत वासिमले आफ्नो नाम गरेका छन् । यस अघि नामिबियाका जेजे स्मिथको नाममा यो कीर्तिमान रहेको थियो ।
वृत्य अरबिन्द ५६ बलमा ५ चौकासहित ३३ रनमा आउट भए । सिपी रिजवान ४४ बलमा ४ चौकासहित २९ रनमा क्रिजमा रहे । दोस्रो विकेटका लागि वृत्य र वासिमले १ सय २५ रनको सानदार शतकीय साझेदारी गर्दै जित पक्का गराएका थिए ।
आयन खान ३८ बलमा ४ चौका र १ छक्कासहित २७ रनमा आउट भए । आसिफ खान ३ बलमा १ चौका र १ छक्कासहित ११ रनमा अविजित रहे । पीएनजीका लागि राईली हेरुकेले २ तथा कबुअ मारिया र जोहन कारिकोले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो । पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाएका थिए ।
लिग-२ मा भालाले ३६ खेल खेल्दा १ शतक र ६ अर्धशतकसहित १ हजार २ सय ९० रन बनाएका छन् । भाला अघि नामिबियाका कप्तान जेरार्ड इरास्मस छन् । इरास्मसले ३४ खेलमा १ शतक र ११ अर्धशतकसहित १ हजार २ सय ९८ रन बनाएका छन् । भालाको यो ओडिआई करिअरको १० औं अर्धशतक हो ।
नर्मन भानुवा ३१ बलमा १ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहेका थिए । चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाए । गौडी टोकाले १५ रन बनाउँदा राईली हेरुकेले अविजित ३३ रन बनाएका थिए ।
युएईका लागि तीव्र गतिका बलर हजरत बिलालले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रोहन मुस्तफा र जवार फरिदले समान एक/एक विकेट लिएका थिए ।
जितसँगै युएई ३५ खेलमा १५ मा जित र १७ मा हारसहित ३३ अंकका साथ छैटौं स्थानमा रहेको छ । पपुवा न्युगिनीले ३६ खेलमा ५ मा जित र ३० मा हारसहित ११ अंकका साथ पुछारमा रहेर लिग-२ सिरिज अन्त्य गर्यो ।