काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति राउण्ड अफ १६ अन्तर्गतको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई ७-० गोल अन्तरले हराउँदै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको म्यानचेस्टर सिटीले समग्रमा ८–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । सिटीलाई घरेलु मैदान इत्तिहाद रंगशालामा फराकिलो जीत दिलाउन नर्वेका स्ट्राइकर अर्लीङ ब्रट हाल्याण्डले पाँच गोल गर्दा केभिन डे ब्रायन र इल्केए गुन्डोगानले एक/एक गोल थपेका थिए ।
हालान्ड यरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा सबैभन्दा कान्छो उमेर र सबैभन्दा छिटो ३० गोल पूरा गर्ने खेलाडी बनेका छन् । हालान्डले २२ वर्षको उमेरमा यो सफलता हासिल गरेका हुन् । यसअघि यो कीर्तिमान काइलियन एमबाप्पेको नाममा थियो ।
हालान्डले च्याम्पियन्स लिगको २५ खेलमा ३३ गोल गरिसकेका छन् । साथै हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा पाँच गोल गर्ने कान्छो खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी र ब्रजिलका लुइस एड्रियानोले च्याम्पियन्स लिगको एकै खेलमा पाँच गोल गरेका थिए ।
साथै २२ वर्षे हालान्डले सबैखाले प्रतियोगितामा गरी जारी सिजन सिटीबाट ३९ गोल गरिसकेका छन् । हालान्डले पाँच पटक ह्याट्रिक गरिसकेका छन् । खेलको २२ औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटी पहिलो हाफमा ३–० ले अघि बढाएका थिए ।
खेलको ४९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई ४–० ले अग्रता दिलाए । ५३ औं मिनेटमा हालान्डले व्यक्तिगत चौथो गोल गर्दै खेल ५–० ले अघि बढाए । खेलको ५७ औं मिनेटमा हालान्डले व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैटौं गोल गरे । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्रायनले गोल गर्दै सिटीलाई ७–० को फराकिलो जित दिलाएका थिए ।
इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
च्याम्पियन्स लिगको गएराति नै सम्पन्न अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगलको क्लब एफसी पोर्टोलाई समग्रमा १–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ । इन्टरले क्वार्टरफाइनलमा स्थान बनाएको २०११ पछि यो पहिलोपटक हो ।
पोर्चुगल भ्रमणमा निस्किएको इन्टरले गएराति गोलरहित बराबरी खेलेको थियो । तर, पहिलो लेगमा हासिल गरेको १–० को विजयले इन्टर क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो । गएराति रक्षक पेपेले इन्जुरी समयमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि पोर्टोले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।