काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली टोली स्वदेश फर्किएका छन् । प्यालेस्टाइनमा भएको एसियन कप छनोट खेलेर नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएको हो । छनोटको समूह 'बी' मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको छ ।
प्यालेस्टाइनमा भएको छनोटमा नेपाल दुई खेल जित्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० ले पराजित गर्दा नर्दन मारियाना आइल्याण्डमाथि ६–० कै जित निकाल्दै दोस्रो चरणमा छनोट हुन सफल भएको थियो ।
नेपाली टोली प्यालेस्टाइनबाट जोर्डन हुँदै मंगलबार बिहान २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह, महिला कमिटिका संयोजक तथा एन्फा सदस्य सरिला श्रेष्ठले स्वागत गरेका थिए ।
छनोटमा पहिलो चरणबाट चीन, नेपाल, अष्ट्रेलिया, लेवनान, चाइनिज ताइपेइ, भियतनाम, म्यानमार र इरान छनोट हुन सफल भएको छ । पोट १ मा अष्ट्रेलिया र चीन, पोट २ मा भियतनाम र म्यानमार, पोट ३ मा इरान र नेपाल तथा पोट ४ मा लेवनान र चाइनिज ताइपेइ रहेका छन् ।
दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । छनोटबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । एएफसी यू–२० महिला एसियन कपमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ ।