काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि नेपालले कीर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार पीएनजीमाथि नेपालले पावर प्लेमै ९ विकेटको कीर्तिमानी जित हात पारेको हो ।
एकदिवसीय क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा नेपालको यो अहिलेसम्मको फराकिलो जित हो । यसअघि, नेपालले सन् २०२० को फेब्रुअरी १२ मा त्रिवि क्रिकेट मैदानमै अमेरिकालाई आठ विकेटले हराएको थियो ।
पीएनजीले जितको लागि दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । आसिफको यो ओडिआई करिअरको आठौं अर्धशतक हो ।
कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहेका थिए । ओपनर कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । पीएनजीका लागि चाड सोपरले एक विकेट लिए ।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भएको थियो । पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए । हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपले एकदिवसीय क्रिकेटमा तेस्रोपटक एकै खेलमा पाँच विकेट लिएका हुन् । सन्दीप खेलको ‘प्लेयर अफ द म्याच’ भए । ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले एक विकट लिए ।
पछिल्ला ११ मध्य १० खेल जितेको नेपाललाई लिग टूको शीर्ष तीनमा रहन अब शृंखलाको अन्तिम खेलमा पनि जित आवश्यक छ । नेपालले अव मार्च १६ (चैत २) विहीबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउँछ ।
जितसँगै नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा रहेको छ । पराजित पपुवा न्युगिनी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंक जोड्दै पुछारमा रहेको छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा रहेको छ ।