काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी(पीएनजी) ले नेपाललाई जितको लागि ९६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजी ३२ ओभरमा ९५ रनमा अल आउट भयो ।
पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए । हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपको यो ओडिआई करिअरको तेस्रो पटक पाँच विकेट हो । ललित नारायण राजवंशीले ७ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले एक विकट लिए ।
सात देश सम्मिलित विश्वकप लिग टूमा नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । एक खेलमा पराजित भएमा भने नेपालले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा रहेको छ । घरेलु मैदानमा ८ एकदिवसीय अन्तराष्ट्रियमा अपराजित नेपालले विश्वकप लिग टूको अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, करण केसी, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने ।