काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी)विरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
घरेलु टोली नेपाल र पिएनजीबीचको खेल बिहान ९:३० बजेबाट सुरु हुनेछ । विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा आवश्यक छ ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् । पीएनजीलाई यही सिरिज अन्तर्गतको पहिलो खेलमा पराजित गरेको घरेलु टोली नेपाल आजको खेलमा समेत सोही लयलाई निरन्तरता दिन चाहान्छ ।
सात देश सम्मिलित विश्वकप लिग टूमा नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । एक खेलमा पराजित भएमा भने नेपालले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा रहेको छ । घरेलु मैदानमा ८ एकदिवसीय अन्तराष्ट्रियमा अपराजित नेपालले विश्वकप लिग टूको अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, करण केसी, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने ।